काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी अध्यक्ष पुष्पकमल दाहाल र आजै अध्यक्षमा मनोनित गरिएका माधव नेपाल गुटले नैतिक पतन देखिने कार्य गरेको भन्दै अनुशासनको कारबाही गरेका दीर्घ सोडारीलाई कैलाली जिल्ला अध्यक्षमा मनोनीत गरेको छ ।

सोडारीले सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्री रहँदा अनैतिक कार्यमा संलग्न रहेको भन्दै त्यहाँको प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । पार्टी विभक्त हुनेदिन प्रचण्ड–नेपाल समूहले सोडारीको कारबाही फुकुवा गर्दै उनलाई जिल्ला अध्यक्ष बनाएको छ ।

त्यस्तै गतिविधिमा संलग्न रहेको आरोप लागेपछि सभामुखबाट पदमुक्त भएका कृष्णबहादुर महरालाई पनि आजैको बैठकले स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका महरालाई अदालतले यसअघि नै सफाइ दिइसकेको छ । तर, सामाजिकरूपमा प्रश्न उठेकाले उनलाई पार्टी जिम्मेवारीमा फर्काउन नहुने आवाज नेकपाभित्रै उठेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !