काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ । सांसद राजभण्डारीकी ९० वर्षीया आमा टङ्ककुमारीको शनिबार राति निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो । दोलखा भीमेश्वर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँ मण्डिखाटार बस्दै आउनुभएका टङ्ककुमारी दोलखाबाट काठमाडौँ आई उद्योग व्यवसायमा नाम कमाउनुभएका स्व इन्द्रमणि राजभण्डारीकी धर्मपत्नी हुनुहुन्छ ।

समाजसेवामा सक्रिय टङ्ककुमारी द्वाल्खा गुठीका पूर्वअध्यक्ष पनि हुनुहुन्थ्यो । द्वाल्खा गुठी दोलखाली नेवार समुदायको प्रभावशाली गुठी हो । समाजसेवी टङ्ककुमारीका दुई छोरा दिव्यमणि राजभण्डारी, दीपमणि राजभण्डारी र तीन छोरी उषामिलन कक्षपति, मुन्ना लाकौल र उदया राजभण्डारी हुनुहुन्छ । स्व टङ्ककुमारीको आजै हिन्दू धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।रासस

प्रतिक्रिया दिनुहोस !