काठमाडौं । लामो समयपछि सभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासको पेशीमा चढेको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित पाँच वरिष्ठ न्यायाधीश रहन्छन्। यसअघि पनि २०७६ को फागुन ३० गते पेशी चढे पनि मुद्दा इजलासले हेर्न भ्याएको थिएन। लकडाउनका बेला अदालत बन्द थियो।

काभ्रेको अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन्। मुद्दा दायर भएका बेला सापकोटा सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका थिए।
सापकोटाविरूद्ध पत्रकार कनकमणी दीक्षितले समेत मुद्दा दायर गरेका छन्।२०६८ सालको असारमा सर्वोच्च अदालतले लामाको हत्यामा सापकोटा संलग्न भएर/नभएको अनुसन्धान गर्न आदेश दिएको थियो। २०६२ सालमा काभ्रेमा लामाको अपहरणपछि हत्या भएको थियो।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीसंग सभामुख सापकोटाको विवाद बढ्दै गइरहेको छ । यही बेलामा सभामुख सापकोटाको मुद्धा पेशीमा चढेपछि विभिन्न आंकलन समेत गर्न थालिएको छ । प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि ओली चिढिएका छन् ।

प्रतिक्रिया दिनुहोस !