चितवन । भुमी सम्बन्धि समस्या समाधान आयोगले लालपुर्जा बितरणका लागि बागमती प्रदेशका २८ वटा स्थानीय तहसंग सम्झौता गरेको छ । लालपुर्जा बितरण प्रक्रिया सुरु गर्न आयोगले ती स्थानीय तहसंग  हेटौंडामा सम्झौता गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितिमा भएको कार्यक्रममा सोहि प्रदेशका २८ वटा पालिकासंग सम्झौता गरेको थियो ।

बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिका र मकवानपुरको बागमती गाउँपालिकासंग यस अघि काठमाडौमै सम्झौता गरिसकेको थियो । भुमिहिन,दलित,सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा ती स्थानीय तहसंग सम्झौता गरिएको भुमी सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवि प्रसाद ज्ञवालिले जानकारी दिए । सम्झौता भएका स्थानीय पालिकामा चितवनको भरतपुर महानगरपालिका ,खैरहनी नगरपालिका ,कालिका नगरपालिका ,राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका छन् ।

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका , मनहरी गाउँपालिका,बकैया गाउँपालिका र मकवानपुरगढि गाउँपालिका,सिन्धुलिको कमलामाइ नगरपालिका ,दुधौली नगरपालिका ,घ्याङलेख गाउँपालिका,हरिहरपुरगढि गाउँपालिका,गोलन्जोर गाउँपालिका,ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकासंग आयोगले सम्झौता गरेको हो । यसैगरी रामेछापको खांडादेवी गाउँपालिका र सुनापाती गाउँपालिका ,धादिङको ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका,सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका,जुगल गाउँपालिका र मेलम्ची नगरपालिका , काभ्रेको रोशी गाउँपालिका,बेथान्चोक गाउँपालिका,तिमाल गाउँपालिका र नुवाकोटको तार्केश्वर गाउँपालिकासंग सम्झौता गरेको आयोग अध्यक्ष ज्ञवालिले बताए ।

सम्झौता पत्रमा आयोगका तर्फबाट आयोगका उपसचिव वसन्त प्रसाद पन्थी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा आयोग र स्थानीय तहले गर्ने कामहरु उल्लेख गरिएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहले सुकुम्बासी ,अव्यवस्थित ,दलित र भुमिहिनलाइ लालपुर्जा दिलाउने कामलाई प्राथमिकता दिन आग्रह गरे । बाटोघाटो निरन्तर बन्ने प्रक्रिया हो मुख्यमन्त्री पौडेलले भने – जनताले अनुभुती हुने गरि काम गर्न लालपुर्जा बितरणको कामले प्राथमिकता पाउनु पर्छ ।

प्रदेशका भौतिक योजनामन्त्री रामेश्वर फुयालले बर्तमान दुई तिहाईको सरकारले लालपुर्जा बितरण नगरे कहिले समस्या समाधान नहुने तर्क गर्दै जसरी पनि यो सरकारले काम गर्ने बताए । बागमती प्रदेशको प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता ईन्द्रबहादुर बानियाँले गणतन्त्रको अनुभुती दिलाउन इमानदार भएर लालपुर्जा बितरणको प्रक्रिया सुरु गर्नु पर्ने बताए ।   आयोग अध्यक्ष देवि प्रसाद ज्ञवालिले पहिलो चरणमा १८६ वटा पालिकासंग सम्झौता हुने जानकारी दिदै असार भित्र रिजल्ट आउने गरि काम गर्न स्थानीय तहका पदाधिकारीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !