प्रचलित :

चितवन । गैर आवासीय नेपाली संघले नेपाल रेडक्रस सोसाईटी चितवनलाई भोली घुम्ती रगत संकलन वस हस्तान्तरण गर्ने भएको छ ।गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा गैर आवासीय नेपाली संघका सचिव गौरीराज जोशीको संयोजकत्वमा सो घुम्ती वस हस्तान्तरण गर्न लागिएको हो ।

चितवनको भौगोलिक बृहत्तरतालाई मध्यनजगर गर्दै र मध्य नेपालका विभिन्न जिल्लाबाट स्वास्थ्यसेवा लाभ ग्रहण गर्न आउने विरामीको चाप र रक्तअभाव परिपूर्ति गर्न दुरदराज सम्म पुगेर रक्त संकलन गर्न सुविधा सम्पन्न उपकरण जडित वाहनको आवश्यक परेकोले सो समस्या निराकरण गरी सहजताको साथ रक्त संकलन गर्न सघाउ पुर्याउन वस हस्तान्तरण गर्न लागिएको कुरा गैर आवासीय नेपाली संघका अध्यक्ष पन्त तथा सचिव गौरीराज जोशीले बताउनुभयो ।

उक्त हस्तान्तरण कार्यक्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा बद्रि केसी, सचिव आरके शर्मा र सहकोषाध्यक्ष लोक दाहाल चितवन आउनुहुने भएको छ ।

भरतपुर महानगरपालिकाको मुख्य समन्वयकारी भूमिका तथा नगर प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिकालाई वस हस्तान्तरण गर्ने र भरतपुर महानगरपालिकाले नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरलाई महानगरपालिकाको कार्यालय परिसरमा भोलि १२।३० बजे गरिने कुरा नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने तथा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरका प्रमुख रमेश कान्त पौडेलले बताउनुभयो ।

विशेषगरी थालासेमिया, हेमोफिलिया, मिर्गौला रोगी, मुटुसम्बन्धी रोगी र अन्य अत्यावश्यक र आकस्मिक रुपमा रगत चाहिनेहरुका लागि यस परियोजनाले राहत प्रदान गर्ने विश्वास लिइएको छ । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसञ्चार पद्धति कार्यदल स्थापना गरेको थियो ।

यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसञ्चार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा करिब ४०० जना भन्दा बढी गैरआवासीय नेपालीहरुले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !