प्रचलित :

पोखरा । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आज देखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवरले जानकारी दिनुभयो ।

“लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका छौँ । पर्यटक आउने विश्वास छ ”, उहाँले भन्नुभयो । उहाँले मन्दिर प्रवेशका लागि भौतिकदूरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिर बन्द रहेका अवस्थामा पूजारि मार्फत नित्य पूजा हुँदै आएको थियो । मन्दिर खुलेसँगै डुङ्गा चालकले खुशी व्यक्त गरेका छन् । दश वर्षदेखि डुङ्गा चलाउँदै आउनुभएका बाबुराम पुरीले भन्नुभयो, “मन्दिर बन्द हुँदा डुङ्गा सयर गर्नेको लागि मात्र त्यति पर्यटक आएका थिएनन् । धेरैजसो आन्तरिक पर्यटक धार्मिक आस्था लिएर मन्दिरको दर्शनका लागि आउँथे, अब मन्दिर खुला भएपछि आन्तरिक पर्यटक आउने विश्वास बढेको छ । ” उहाँले लामो समय कोभिड– १९ को असरमा परेका डुङ्गा चालक अब चहलपहल बढ्छ कि भन्ने आशा रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड– १९ ले ठप्प रहेको यहाँको पर्यटन अब विस्तारै लयमा फर्कन थालेको बताउनुभयो । “हामीले सङ्घ, प्रदेश र पोखरा महानगर तीनै तहलाई पोखरा आसपासका धार्मिक एवं पर्यटकीय गन्तव्य खोल्नका लागि पटकपटक आग्रह ग¥यौं, उहाँहरु सकारात्मक हुनुभयो । आजबाट बाराही मन्दिर खुला भएको छ अब अरु मठमन्दिर र पर्यटकीय गन्तव्य पनि खुल्नेछन् ।”
उहाँले पोखरा आसपासका पर्यटकीय गन्तव्य खुलेपछि नयाँ वर्षमा हुने सडक महोत्सवमा आन्तरिक पर्यटकको आगमन बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो । “कोभिड –१९ को भयबाट माथि उठेर स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित पर्यटकीय गतिविधि गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो “अब पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिएर बाह्य पर्यटकसम्म पनि पुर्याउनुपर्छ ।” उहाँले पर्यटन व्यवसायीलाई विस्थापन हुनबाट जोगाउन सरकारले ल्याएको राहत प्याकेज छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस !