प्रचलित :

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको बाध्यता भएको बताउनु भएको छ । उहाले बैठकमा उपस्थित नहुने नेपाली कांग्रेस र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बढी जिम्मेवार रहेको स्पष्ट पार्नुभयो ।

‘संविधान अनुसार प्रमुख प्रतिपक्ष दलको नेता र सभामुख अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुनुपर्छ,’ बिजुक्छेले भन्नुभयो, ‘उहाँले बैठक बहिष्कार गरेपछि बैठक संचालन गर्न सरकारसामु अध्यादेश ल्याउनु बाहेक तत्काल कुनै विकल्प थिएन । अध्यादेश आउनुको पछाडि कांग्रेस र प्रचण्डजीको हात छ ।’

बिजुक्छेले सभामुख जस्तो गरिमाय पद कुनै पार्टीका नेताको कार्यकर्ता बन्नु संविधान विपरित भएको समेत बताउनु भयो । प्रचण्डले पार्टी चलाउन नसिक्ने स्थितिमा पार्टीभित्र विवाद सृजना गरेको आरोप लगाउँदै उहाले सरकारले कुनै पनि हालतमा आत्मसमर्पण गर्न नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष बिजुक्छेले प्रचण्डहरुसँग हिम्मत भए बहुमत भएर ओलीलाई हटाउन चुनौति समेत दिनुभयो । ‘चुवावमा जान पनि डराउने र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न पनि नदिने गरी प्रचण्डले नेकपाभित्र झगडा गराएका हुन्,’ बिजुक्छेले भन्नुभयो, ‘अहिले नेकपाभित्रको विवादमा भारतको हात छ।’

प्रतिक्रिया दिनुहोस !