लहान । पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको सिरहाको कर्जन्हा गाउँपालिका– १ बन्दीपुरस्थित बाबातालमा भ्यू टावर निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र पार्कका कारण पर्यटकको रोजाइमा परेको यहाँ भ्यू टावर निर्माण गरिएको हो ।

पर्यटन बोर्डले बनाएको भ्यू टावरको उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल, प्रदेशसभा सदस्य दिलीप शाह र सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले उद्घाटन गर्नुभयो । भ्यू टावरबाट बाबातालको मनोरम दृश्य अवलोकन गर्न सकिने अध्यक्ष दाहालले बताउनुभयो । दृश्यावलोकनलाई अहिले दैनिक १०० देखि १५० सम्म आन्तरिक पर्यटक आउने गरेको ताल संरक्षण सम्बद्र्धन समितिका केशव पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार चुरे क्षेत्र नजिकै रहेको उक्त तालमा घुम्न गर्मीभन्दा कात्तिकदेखि माघ महिनासम्म बढी पर्यटक आउँछन् । वर्षेनी खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेराबार गरी आर्थिक वर्ष २०६०-६१ सालमा भू संरक्षण कार्यालयबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१÷७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर र बालपार्क बनाएर व्यवस्थित बनाएको थियो ।

सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट विद्यालय तथा कलेजका विद्यार्थी आउने गरेको पोखरेलको भनाइ छ । नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्छ । “ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुरी चलचित्र छायाकङ्न हुन थालेको छ”, ताल क्षेत्रमै पसल सञ्चालन गर्दै आउनुभएकी कोपिला दाहालले भन्नुभयो,“दैनिकजसो कलाकार आउने, छायाङ्कन गर्ने गरेका छन्”।

प्रवेश शुल्क रु १० र तालमा आधा घण्टा डुङ्गा शयर गर्ने पर्यटकका लागि रु १५ लाग्छ । त्यहाँको आकर्षण बढाउन बगैँचा र बालउद्यान निर्माण गरिएको छ । भ्यू टावर निर्माणपछि बाह्य पर्यटक आउने अपेक्षा गरिएको समितिका अध्यक्ष अञ्जनी यादवले बताउनुभयो । करिब सात हेक्टरमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत बनाइएको छ । ताल क्षेत्रभित्र स्थानीयवासीले होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष दाहालको भनाइ छ । राजमार्गदेखि तालसम्मको ग्राभेल बाटो कालोपत्र गर्ने र केबुलकार सञ्चालन गर्ने समितिको योजना छ । रासस

प्रतिक्रिया दिनुहोस !