चितवन। नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले लोकतन्त्र, गणतन्त्र तथा संघीयता जस्ता विषय धरापमा पर्छ कि भनेर नेताहरु आत्तिन नपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभामा उपाध्यक्ष पोखरेलले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्र कमजोर हुन नदिने बताएका हुन् । कार्यक्रममा उनले भने, ‘ नेताहरुले लोकतन्त्र कसैले लग्ला भनेर चिन्ता गर्नु पर्देन । नेपाली पत्रकारिता क्षेत्रले जोगाइदिन्छ । उनले नेपाली पत्रकारिता क्षेत्र स्वतन्त्रताको लडाइमा कहिल्यै पनि पछाडि नफर्कने विचार राखे । नागरिक संस्थाहरु पत्रकार महासंघ, बार एशोसिएसन सधै नागरिकका स्वतन्त्रताको मुद्दामा लड्दै आएका छन् त्यसैले लोकतन्त्र कहिल्यै कमजोर हुन नसक्ने उनको धारणा थियो ।

कार्यक्रममा उपाध्यक्ष पोखरेलले नेपाली प्रेस कानुनहरु प्रेस मैत्री बन्दै श्रमको मूल्य प्राप्त हुने वातावरण बनेमा सडकमा आउनुपर्ने बाध्यता नपर्ने विचार राखे । उनले भने, ‘मुलुकमा गणतन्त्र चाहिन्छ भन्ने पहिलो संस्था पत्रकार महासंघ हो । त्यसैले प्रेस स्वतन्त्रता विरोधी कानुन मान्दैनौं ।’ उनले सञ्चार कानुन बनाउँदा गहन अनुसन्धान गरेर मात्र बनाउन सरकारलाई सुझाव पनि दिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालले अझै पनि प्रेस स्वतन्त्रताको सुरक्षाको लागि पत्रकारहरु चनाखो बन्नुपर्ने अवस्था रहेको विचार राखे । उनले भने, ‘ सूचनाको हक नागरिकको हकसँग जोडिएको विषय हो । त्यसैले पनि मिडियाहरु सञ्चालनको लागि सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेर उपयुक्त वातावरण बनाउनुपर्छ ।’ उनले पत्रकारका मागहरु पूरा नभए ठूला मिडिया सञ्चालकहरुको घर घेराउदेखि सामाजिक बेइज्यती पनि गरिने विचार राखे ।

साधारण सभामा प्रेस संगठनका वाग्मती प्रदेश इन्चार्ज विश्वमणि सुवेदीले पत्रकार महासंघको आगामी नेतृत्व चयनको विषयमा आफूहरुले खुला प्रतिस्पर्धालाई मुख्य प्राथमिकतामा राखे पनि प्रतिस्पर्धाभित्र बिसंगति भित्रिने गरेकोले सहमतिका आधारमा नेतृत्व चयनलाई प्रेस संगठनले प्राथमिकता दिने बताए । उनले कोरोना महामारीमा ठूला सञ्चारगृहले नै पत्रकारहरुलाई प्रताडित गरेको भन्दै न्यायका निम्ति आफूहरु सधै लडिरहने विचार राखे । उनले भने, ‘ देशको सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नको लागि आमसञ्चार नीति ल्याउन जरुरी छ ।’

कार्यक्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली प्रेस मैत्री नदेखिएको भन्दै सरकारले पत्रकारहरुको समस्यामा वास्ता गर्न छाडेको विचार राखे । उनले भने, ‘पत्रकारहरुको हकहितको लागि छाता संगठनमा सबै मिलेर जानुपर्ने रहेछ । पत्रकार महासंघको आगामी अधिवेशनमा माथिदेखि तलसम्म एकाताबद्ध र सिंगो संगठन बन्न जरुरी छ ।’ कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्यहरु कृष्ण गिरी र सृजना अर्यालले पत्रकारहरुको श्रमको रक्षा, सुरक्षा र दक्षता अभिवृद्धि अबको पत्रकार महासंघको मुख्य एजेण्डा बन्नुपर्ने विचार राखे ।

कार्यक्रममा पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट र वाग्मती प्रदेश प्रेस रजिस्टार कार्यालय प्रमुख रेवती सापकोटाले वाग्मती प्रदेश सरकारको तर्फबाट पत्रकारिता क्षेत्रमा भएका कामहरुको बारेमा अवगत गराएका थिए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुशोत्तम सुवेदी, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाइँ, पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष मोतिराम तिमिल्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा चितवनका एक दर्जन बढी पत्रकारलाई पुरस्कृत गरिएको छ ।

साधारण सभाको अवसरमा पत्रकार महासंघ चितवनको स्मारिकाको पनि विमोचन गरिएको छ । साधारण सभाले महासंघ चितवन शाखाका सचिव तीर्थ नेपालले पेस गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाशमणि ज्ञवालीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको साधारण सभा ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।

पत्रकारहरु पुरस्कृत

पत्रकार महासंघ चितवनको साधारणसभाको अवसरमा चितवनका एक दर्जन बढी पत्रकारहरु पुरस्कृत भएका छन् ।

महासंघले साधारण सभाको अवसरमा शनिबार पत्रकारहरुलाई हौसला र उर्जा दिनको लागि जनही १० हजारदेखि ५० हजार बढीका पुरस्कारहरु प्रदान गरेको हो ।

मैयादेवी पत्रकारिता पुरस्कार–२०७६ र २०७७ बाट हरिप्रसाद पोखरेल र दिपेन्द्र बडुवाल, अनन्त गंगा पत्रकारिता पुरस्कारबाट रेशम विरही र ईश्वर जोशी पुरस्कृत भएका छन् । दुवै पुरस्कारको राशी जनही ५१ हजार १११ र ५० हजार ५१ रुपैयाँ रहेको छ ।

त्यसैगरी जनही ११ हजार ३११ रुपैयाँको तिलचन्द्र शाखी स्मृति पत्रकारिता पुरस्कारबाट नारायण सापकोटा र अनिल ढकाल सम्मानित भएका छन् । त्यस्तै जनही ११ हजार १११ रुपैयाँ राशीको बालकुमारी–विष्णुकुमारी नारी अभ्युदय पत्रकारिता पुरस्कारबाट सविता महतो र सुजिता हमाल पुरस्कृत भएका छन् ।

त्यसैगरी सुजाश्री मैयादेवी पुरस्कार २०७६ र २०७७ बाट अनिता अर्याल र सविता दराई पुरस्कृत भएका छन् । यस पुरस्कारको रकम जनही १० हजार १११ रुपैयाँ रहेको छ । पत्रकार महासंघले साधारण सभाको अवसरमा उत्तरध्वज सूर्यकुमारी पत्रकारिता पुरस्कारबाट सूर्य पाठकलाई सम्मानित गरेको छ । यस पुरस्कारको राशी १० हजार १११ रुपैयाँ रहेको छ । पत्रकार महासंघले चितवन उद्योग संघको सहयोगमा यसैवर्षबाट वितरण गर्न सुरु गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट होमनाथ सापकोटा र प्रविण बराल पुरस्कृत भएका छन् ।

पुरस्कारको राशी जनही ११ हजार १११ रुपैयाँ रहेको छ । कार्यक्रममा पुरस्कृतको तर्फबाट अनन्त गंगा पत्रकारिता पुरस्कार प्राप्त गर्ने अग्रज पत्रकार रेशम विरही र मैयादेवी पत्रकारिता पुरस्कार स्थापनामा सहयोग गर्ने समाजसेवी टंकनाथ पौडेलले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !