चितवन । रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशनमा बस्तुगत उपाध्यक्ष निर्विराेध भएको छ । अधिवेशनको निर्वाचन तालिका अनुसार आज बुधबार भएको उम्मेदवारी दर्तामा सो पदमा एक जनाको मात्र उम्मेदवारी परेको हो ।

बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट निर्विराेध चयन भएको निर्वाचन समितिले जनाएको छ । अन्य पदमा भने मतदान हुने भएको छ । अधिवेशनमा नेकपा निकट र नेपाली काङ्ग्रेस निकटका व्यवसायीहरूले प्यानल नै बनाएर चुनावमा होमिएका छन् ।

बस्तुगत उपाध्यक्षमा निर्विराेध भएका भट्ट नेपाली काङ्ग्रेस निकटका हुन् । बस्तुगत सदस्यहरु कांग्रेस निकट धेरै भएकाले नेकपाले बस्तुगत उपाध्यक्षमा उम्मेदवारी नदिएको बुझिएको छ । संघको वरिष्ठ उपाध्यक्ष नेकपा निकट व्यवसायीकाे प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शंकर गिरि र काङ्ग्रेस निकट ब्यवसायिको प्यानलबाट देवेन्द्र कुमार श्रेष्ठको उम्मेदवारी परेको छ । नेकपाबाट बाणिज्य उपाध्यक्षमा दुई जना भिमनारायण श्रेष्ठ र देवि प्रसाद डल्लाकोटीको उम्मेदवारी परेको छ ।

यसअघि बाणिज्य उपाध्यक्षमा श्रेष्ठ र उद्योग उपाध्यक्षमा डल्लाकोटिले उम्मेदवारी दिने सहमती भएको थियो । तर उम्मेदवारीको अन्तिम समयमा डल्लाकोटिले बाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ । बिहीबारसम्म एक जनाले उम्मेदवारी फिर्ता लिने पनि बुझिएको छ ।

कांग्रेस निकटबाट भने सो पदका लागि कबिन घिमिरेले उम्मेदवारी दिएका छन् । उद्योग उपाध्यक्षमा नेकपाबाट पुरु खनाल र काङ्ग्रेस निकटबाट निरन्जन थापाले उम्मेदवारी दिएका छन् । एसोसिएट उपाध्यक्षमा पनि दुबै प्यानलबाट उम्मेदवारी परेको छ । जसमा नेकपा निकटबाट राममणी थपलिया र कांग्रेस सहितको प्यानलबाट हरि प्रसाद अधिकारीले नाम दर्ता गराएका छन । महासचिवमा नेकपा निकटबाट निराजन खनाल र काङ्ग्रेस निकटबाट माधव पौडेल तथा कोषाध्यक्षमा नेकपा निकटबाट उपेन्द्र शर्मा आचार्य र काङ्ग्रेस सहितको प्यानलबाट मिना उप्रेतीले उम्मेदवारी दिएका छन् ।

बाणिज्यतर्फ सदस्यमा ८ जनाको लागि १६ जनाले ,उद्योग तर्फ सदस्यमा ६ जनाका लागि १२ जनाले, एसोसिएट सदस्यमा ३ जनाले र बस्तुगत सदस्यमा २ जनाले उम्मेदवारी दिएका छन् । अधिवेशनको निर्वाचन तालिका अनुसार भोलि बिहीबार उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस !