प्रचलित :

चितवन । देशको मध्यभागमा पर्ने चितवन जिल्लामा सडक दुर्घटनाको घटना तीब्र रुपमा बढेको छ । पछिल्लो चार महिनामा चितवनमा भएका सडक दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको तथ्याङ्क शुक्रवार सार्वजनिक गरिएको छ । रत्ननगर नगरपालिकासंगको सहकार्यमा जिल्ला ट्राफिक कार्यालय चितवनले आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरणमा सरोकारबालाहरुको भूमिका विषय अन्र्तक्रिया कार्यक्रममा चालु आर्थिक बर्षको चार महिनामा सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको र घटनामा २३६ जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

घटनामा ८० जना गम्भीर गाइते भएका छन । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले चार महिनामा भएका १४० वटा दुर्घटनामा ३६ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु भएका ३६ जना मध्य १२ जना पूर्वी चितवनका रहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । पूर्वी चितवनको टिकौली देखि लोथर सम्मको २५ किलोमिटर सडकमा अत्याधिक दुर्घटना हुने गरेको छ । चालु आर्थिक बर्षमा आभरटेक गर्दा ६ वटा,तीब्रगतिका कारण १०७ वटा,मापसे गरेर ३ वटा,चालक र यात्रुको लापरबाहीका कारण २४ वटा दुर्घटना भएको छ ।

सधुरो सडक,सवारी साधनको चाँप र तीब्र गतिका कारण सो सडक खण्डमा पछिल्लो समय दुर्घटना बढेको प्रहरी निरीक्षक भट्टले बताए । आर्थिक बर्ष २०७६÷७७ मा चितवनमा १०७ जनाको सडक दुर्घटनाका कारण मृत्यु भएको छ भने ४८५ जना घाइते भएका थिए । कार्यक्रममा सडक दुर्घटनाको अबस्था,न्यूनीकरणका उपायहरुको विषयमा कार्ययोजना प्रस्तुत गर्दै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी प्रहरी उपरीक्षक शान्तिराज कोइरालले सवारी दुर्घटना न्यूनीकरणको लागि स्थानीय सरकारसंग सहकार्यको नीति अबलम्बन गरिएको बताए । उनले दुर्घटना न्यूनीकरणको लागि प्रविधिमैत्री सडक निर्माण गर्ने योजना रहेको बताए ।

चितवनमा सवारी दुर्घटना न्यूनीकरणको लागि मकवानपुर र चितवनको सिमानामा पर्ने लोथरमा राप्ती नगरपालिकाको सहकार्यमा चेकप्वाइन्ट राख्ने,खैरहनी नगरपालिकाको सहकार्यमा लामो दुरीबाट आएका सवारी साधनलाई केही समय राख्ने गरी खैरहनीमा रिफ्रेस सेन्टर निर्माण गर्ने,रत्ननगर नगरपालिकाको सहकार्यमा राजमार्गमा आधुनिक उपकरण जडान र ट्राफिक सचेतना बोर्डको व्यवस्थापन गर्ने,कालिका नगरपालिकाको सहकार्यमा ट्राफिक संकेट वोर्ड राख्ने योजना रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । उनले दुर्घटना न्यूनीकरणको लागि विशेष ट्राफिक चेकजाच अन्तर्गत तीब्रगती,मादक पर्दार्थ सेवन,रुढ प्रमिट लगातका चेकजाँच गर्ने गरिएको बताए । जिल्लामा सडक दुर्घटना न्यूनीकरणको लागि गोन्द्राङदेखि लोथरसम्मको हाईवे सडकको स्तरोन्नती,हाईवे सडकको दाँया वाँया व्यवस्थित सडक पेटि तथा रेलिङको निर्माण,बजारको मुख्य मुख्य चोकहरुमा ओभरहेड ब्रिज र सव वे को निर्माण,सडक वजारका अत्यधिक ट्राफिक फ्लो हुने ठाउँमा ओभर क्रशर र अन्डरक्रस राख्ने दीर्घकालिन योनना अघि सारिएको छ ।

बजारको मुख्य मुख्य चोकहरुमा ट्राफिक लाईटको व्यवस्था,सडकमा आवश्यकत अनुसार व्यवस्थित बस पकेटको निर्माण,व्यस्त बजारमा मालवाहक सवारीले सामान लोड अनलोड गर्न उपयुक्त स्थानको व्यवस्था,सडकको दाँया वाँया सडक बत्तीको व्यवस्था,बजारका मुख्य मुख्य चोकहरु र बढी दुर्घट्ना हुने स्थानहरुमा आधुनिक सीसी क्यामेरा जडान गर्ने दीर्घकालिन योजना अघि सारिएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भट्टले बताए । प्रदेश सभा सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेश सांसद कन्चन खनाल,रत्ननगरका मेयर नारायण वन,कालिकाका मेयर खुमनारायण श्रेष्ठ,राप्तीका मेयर प्रभा बराल,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,रत्ननगरकी उपमेयर विमला दुवाडी, चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,लायन्स क्लवका डिष्टिक गर्भनर रामप्रसाद भट्टराई,नेपाल राष्ट्रिय यातायात महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी,नेपाली काँग्रेस खैरहनी नगर समिति सभापति शशी खनिया लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !