शिशिर सिंखडा, चितवन । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडकमै सचेतनामूलक प्रशिक्षण सुरु गरेको छ । गत १२ गते शुक्रबारदेखि चितवनको विभिन्न क्षेत्रका सडकमा पैदल यात्रु र सवारी चालकलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिन थालिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।


सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयबाट गठन गरिएको स्वयम्सेवक टोली, ट्राफिक प्रहरी, नेपाल प्रहरीको समेत उपस्थितिमा सो प्रशिक्षण थालिएको हो । सडकमा बढ्दो दुर्घटनाको जोखिम, सुरक्षित सडक प्रयोग गर्ने विधि, अपनाउनुपर्ने सावधानीहरुको बारेमा दैनिक रुपमा प्रशिक्षण दिइने गरेको कार्यालय प्रमुख भट्टले बताउनुभयो । बाटो काट्दा पैदल यात्रुले अनिवार्य रुपमा जेब्राक्रसिङ्ग प्रयोग गर्ने, पैदल हिड्दा फुटपाथको प्रयोग गर्नुपर्ने, सवारी चालकहरुले अनिवार्य रुपमा जेब्राक्रसको स्टपिङ्ग लाइनमा रोकेर पैदल यात्रुहरुलाई प्राथमिकता दिनुपर्ने विषयमा समेत प्रशिक्षण दिइएको भट्टले बताउनुभयो ।


सडकमा सवारीको गति र अवस्थालाई ध्यान दिन चालकहरुलाई अनुरोध गरिएको र पैदल यात्रुहरुलाई पनि सुरक्षित यात्रा गर्न अनुरोध गर्दै प्रशिक्षणहरु दिइएको उहाँको भनाइ थियो । एक हप्ताको अवधिमा कार्यालयले १ हजार ५ सय भन्दा बढी सचेतनामूलक पर्चा वितरण गरेको छ भने १ हजार १ सय ५० जना चालक र १ हजार ९ सय ५ जना पैदल यात्रुलाई सडकमै सचेतनामूलक प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भट्टले बताउनुभयो ।


चितवनको पूर्व–पश्चिम राजमार्ग तथा पृथ्वी राजमार्ग भएर दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रुहरु आवतजावत गर्ने गर्दछन् । यी मुख्य सडक र भित्री सडकहरुमा समेत गरी दैनिक जसो चितवनमा दुर्घटनाका घटनाहरु बढ्दै गएपछि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम गर्न थालेको चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिनुभयो । विभिन्न दुर्घटनाहरुको न्यूनीकरण र अन्त्यको लागि जिल्ला प्रहरी कार्यालय चितवनको तर्फबाट आवश्यक सहयोग भइरहेको र निरन्तर सहयोग रहने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !