शिशिर सिंखडा, गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ७ घ्याल्चोकमा रहेको ज्ञानमार्ग मा.वि. जिल्लाकै नमूना मा.वि. को रुपमा विकास हुने भएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत नमूना विद्यालयमा छनोट भएपछि सो विद्यालयमा करिव १३ करोड रुपैयाको गुरुयोजना निर्माण  सम्पन्न भएको विद्यालयका प्राचार्य टंक प्रसाद नेपालले जानकारी दिनुभयो । नेपाल सरकारको नमूना विद्यालय छनोट समितिबाट नमूना विद्यालय निर्माण गर्ने भनी छनोट भएपछि ५ वर्ष भित्रमा गुरुयोजना अन्तर्गतका कामहरु सम्पन्न हुने प्राचार्य नेपालले बताउनुभयो । गुरुयोजना अन्तर्गत विद्यालयको शैक्षिक एवम् भौतिक विकासहरु हुने छन् ।

विद्यालयलाई आवश्यक पर्ने भवन, शिक्षण सामग्री, ल्याव, मल्टिमिडियाको व्यवस्थापन हुने छन् भने टाढाबाट पढ्न आउने विद्यार्थीको लागि छात्रावासको समेत व्यवस्थापन हुनेछ । ५ वर्ष भित्र किताव कापी रहित अर्थात् ल्यापटपबाट नै सबै विद्यार्थीहरुको पढाई गराउन सकिने छ भने अतिरिक्त क्रियाकलाप अन्तर्गत स्वीमिङ्ग पुल, अडिटोरियम हल, भलिबल, फुटबल, टेबुल टेनिस, बास्केटबल, हाइजम्प, लङ्गजम्प लगायतका विभिन्न खेलहरुको लागि समेत गुरुयोजना भित्रैबाट सम्पूर्ण पूर्वाधार निर्माण हुने छन् । टाढाबाट आउने विद्यार्थीहरुलाई यातायात सहजताको लागि बसको व्यवस्था र विद्यार्थीको अनुपातमा आवश्यक शिक्षकको समेत व्यवस्था हुने भएपछि निजी श्रोत शिक्षकको समस्या समेत हल हुने विद्यालयका प्राचार्य नेपालले बताउनुभयो ।

साविक घ्याल्चोक तथा भुम्लिचोक, दरबुङ, फुजेलबाट समेत विद्यार्थीले अध्ययन गर्न आउने सो विद्यालयमा कक्षा ११, १२ मा प्राविधिक विषयहरु समेत पढाई हुने गरेको छ । सबै कक्षाहरुमा अंग्रेजी माध्यमबाट पढाई हुने गरेको छ । विद्यालयमा छिमेकी विद्यालयबाट आउने विद्यार्थीहरुको हकमा भने आवश्यकता अनुसार नेपाली माध्यममा पनि पढाई हुने गरेको छ । प्राविधिक शिक्षा अन्तर्गत पशु विज्ञानका विद्यार्थीहरुलाई प्राक्टिकल गर्न सहजताको लागि विद्यालयमा नै बंगुर, कुखुरा, बाख्रा, गाई र माछापालन समेत गरिएको विद्यालयका लेखा शाखा प्रमुख तथा शिक्षक राजु रेग्मीले जानकारी दिनुभयो ।

हाल विद्यालयमा १२ जना छात्र र १२ जना छात्राको लागि मात्र होस्टेलको क्षमता भएपनि गुरुयोजना सम्पन्न भएपनि भने १ सय जना भन्दा बढी विद्यार्थीहरुलाई होस्टेलमै राखेर अध्यापन गराउन सकिने उहाँले जानकारी दिनुभयो । मन्टेश्वरी पद्धतीद्वारा बाल कक्षामा पढाई हुने यस विद्यालयमा निजी विद्यालय छाडेर सरकारी तर्फ आउने विद्यार्थीहरुको क्रम समेत बढ्दो रहेको उहाँले जानकारी दिनुभयो । बिधालयमा अपांग मैत्री कक्षा तथा सौचालय समेत रहेको छ ।

विद्यालय भित्र गाउँपालिका स्तरीय भेटेरीनरी समेत रहेको छ । सो भेटेरीनरीमा दक्ष पशु चिकित्सकहरुबाट स्थानीयको पशुहरुको उपचार समेत हुँदै आएको छ । ६४ रोपनी क्षेत्रफलमा रहेको सो विद्यालय पृथ्वी राजमार्गको चरौँदीबाट डेढ किलोमिटर पश्चिममा रहेको छ । हाल करिव ५ सय विद्यार्थी रहेको सो विद्यालयमा भूकम्पका कारण विद्यालयको पूरानो भवनहरु भत्किएकोमा जाइका नामक संस्थाले २१ कोठाको ३ वटा भवन बनाई दिएको छ भने डिसहोम संस्थाले ६ कोठे छात्रावास समेत बनाई दिएको छ । साथै विद्यालयमा गाउँपालिका स्तरीय सङ्ग्रहालय समेत बनाउने योजना रहेको विद्यालयका प्राचार्य नेपालले जानकारी दिनुभयो । सो सङ्ग्रहालयमा जातीय, धार्मिक, ऐतिहासिक तथा विभिन्न महत्व बोकेका सामग्रीहरु राखिने छन् । विद्यालयमै व्यवसायिक शिक्षा अन्तर्गत सिकर्मी, डकर्मी, मूर्तिकार कक्षा पनि संचालन हुने र उनीहरुले तयार गरेका उत्पादनहरुको बजारीकरण भने विद्यालयले नै गराइदिने उहाँको भनाइ थियो ।

विद्यालयको प्रशासनिक सुधार अन्तर्गत नायव सुब्बा, लेखा अधिकृत सहितको कर्मचारीको व्यवस्थापन हुनेछ भने स्वास्थ्य सेवा अन्तर्गत बी.एन. को व्यवस्था र मनोपरामर्शदाताको समेत व्यवस्थापन गरिने छ भने गुरुयोजना अन्तर्गत नै होस्टेल वार्डेन र सुरक्षा गार्डको समेत प्रवन्ध हुनेछ ।

बिधालयको ५ बर्षेे गुरु योजना अन्तरगत रु. १२ करोड ८० लाखको योजना बनेको गण्डकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष एवं बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तुलसीप्रसाद रेग्मीले जानकारी दिनु भयो । हाल नेपाल सरकारको नमुना बिधालय कार्यक्रम मार्फत भौतिक निर्माणको लागि करिब डेढ करोड रुपैयाको टेन्डर भैसकेको उहाँले जानकारी दिनु भयो। नमुना बिधालय कार्यक्रम मार्फत पनि रकम प्राप्त हुँदैजाने र बिधालयको तर्फबाट हरेक बर्ष १ करोड रुपैयाँ जुटाउनु पर्ने अध्यक्ष रेग्मीले बताउनु भयो । सो रकमको लागि गाउँ पालिका, प्रदेश सरकार, संघीय सरकार तथा स्वदेश तथा बिदेशमा हुने सहयोगी दाताहरुलाई अनुरोध समेत गरिएको उहाँले बताउनु भयो ।

नेपाल सरकारको नमूना विद्यालय कार्यक्रम अन्तर्गत गोरखा जिल्लामा हालसम्म ज्ञानमार्ग मा.वि. र लुइँटेलको अमरज्योति मा.वि. मात्र छनोटमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस !