शिशिर सिंखडा, चितवन । धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. १०, खरभञ्ज्याङ्गमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा रोटरी क्लवले खानेपानीको व्यवस्थापन गरिदिने भएको छ । रोटरी क्लव अफ नारायणगढले सो विद्यालयका विद्यार्थीहरुलाई खानेपानीको अभाव भएको थाहा पाई खानेपानीको प्रवन्ध गरिदिने भएको हो ।

खरभञ्ज्याङ्ग गाउँमै खानेपानी तथा सिँचाइको लागि समस्याग्रस्त गाउँ हो । सो क्लवका पूर्व अध्यक्ष अरुण पियाले सो विद्यालयमा खानेपानीको समस्या भएको थाहा पाएपछि विद्यालयमा बोरिङ्ग गरेर अथवा अन्य माध्यमबाट पनि खानेपानीको व्यवस्था गर्न क्लव प्रतिवद्ध रहेको बताउनुभयो । विद्यालयमा आयोजित एक कार्यक्रममा पूर्व अध्यक्ष पियाले खानेपानी व्यवस्थापनको लागि १ लाख १ हजार रुपैया र क्लवका अध्यक्ष अनुकूल श्रेष्ठले २५ हजार रुपैयाको कोष स्थापना गरेको घोषणा गर्नुभएको थियो । । साथै सो विद्यालयमा खानेपानी व्यवस्थापनको लागि लाग्ने रकम क्लवको तर्फबाट थप गरी सम्पूर्ण खर्च क्लवले व्यहोर्ने गरी खानेपानी व्यवस्थापन गरिने क्लवका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु अरुण पिया, चुननारायण श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, चेपाङ अभियन्ता केपीकिरण शर्मा, लक्ष्मण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक रिजाल, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुहरी अर्याल लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !