काठमाडौं। अर्थ मन्त्रालयले कोरोना बीमा रकम ३ दिनभित्रै भुक्तानी दिन बीमा समितिलाई ताकेता निर्देशन पठाएको छ ।

कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै अर्थ मन्त्रालयले ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन बीमा समितिलाई पुनः ताकेता निर्देशन पठाएको हो ।

हाल कुन–कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषयको विस्तृत विवरण पठाउन समेत भनेको छ ।

कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न समेत अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !