शिशिर सिंखडा, गोरखा । कोरोना सङ्क्रमणको कारण ९ महिनादेखि पर्यटकविहिन बनेको गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ५ मा रहेको रानीस्वाँरा होमस्टे पर्यटकको पर्खाइमा रहेको छ ।

२०७५ साल चैत्र २८ गतेबाट सुरु भएको रानीस्वाँरा मगरात सामुदायिक होमस्टेमा एकैदिन १ सय जना भन्दा पनि बढी पर्यटक आउने गरेकोमा अहिले भने कोरोनाका कारण पर्यटकहरु आउन नसकेको होमस्टेका अध्यक्ष यम बहादुर आलेले बताए । सो गाउँमा रहेका ५४ घरधुरीहरु सबै मगर समुदायका छन् । सबै घरमा पाहुना राख्न होमस्टे संचालन गरिएको मगरात रानीस्वाँरा समूहका अध्यक्ष आइत बहादुर मगरले बताए । १ सय जना भन्दा बढी पर्यटकलाई एकैपटक व्यवस्थापन गर्न सकिने सो गाउँबाट मनासलु हिमाल, गणेश हिमाल र अन्नपूर्ण हिमश्रृङ्खला नजिकैबाट नियाल्न सकिन्छ ।

मगर समुदायद्वारा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम तथा दोहोरी गीत कार्यक्रम समेत हुने सो गाउँमा होमस्टेलाई थप व्यवस्थित बनाउन गाउँपालिकाद्वारा २५ लाख रुपैयाको लागतमा सिँढी निर्माण कार्य भइरहेको छ भने वडा कार्यालयबाट पनि ५ लाख रुपैया बजेट विनियोजन भई धमाधम विकास निर्माणका काम भइरहेको छ । साँसद हरिराज अधिकारीको साँसद विकास कोषको १५ लाख रुपैयाबाट ६ कोठे भवन बनाउन बजेट विनियोजन भई काम थालिएको र सो भवन सम्पन्न गर्न वडाबाट थप १० लाख बजेट विनियोजन गरिएको वडा नं. ५ का वडा सदस्य एवम् होमस्टेका सल्लाहकार घन बहादुर थापामगरले जानकारी दिए ।

उद्योग तथा पर्यटन मन्त्रालय आन्तर्गत प्रदेश सरकारको तर्फबाट सङ्ग्रहालय एवम् कोशेली घरको निर्माणको लागि १० लाख रुपैया प्राप्त भएको समेत उनले जानकारी दिए । सो रानीस्वाँरा गाउँमा बाइसे, चौबिसे राजाको पालामा एक रानीले तिदुँको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनाले सो गाउँको नाम रानीस्वाँरा रहेको भनाइ छ । सो रुख अझै पनि रहेको र रुखसँगै रानीको सम्झनामा मन्दिर समेत बनाइएको थियो । सो मन्दिरमा छानो हाल्न नहुने, छानो हाल्दा पटक–पटक दैवीशक्तिले उडाएर लगेको हुनाले सो स्थानमा मन्दिरका सामानहरु मात्र रहँदै आएको वडा सदस्य घन बहादुर थापामगरले बताए ।

होमस्टे जानको लागि पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाटबाट दरबुङफाँट हुँदै रानीस्वाँरा पुग्न सकिन्छ । सो स्थानमा पुग्नको लागि मोटरसाइकल, निजी सवारी साधनका अतिरिक्त हरेक दिन सार्वजनिक बसमा समेत जान सकिन्छ । सो दरबुङ गाउँबाट पनि हिमालहरु स्पष्ट रुपमा देख्न सकिन्छ । पृथ्वी नारायण शाहले बाइसे, चौबिसे राज्य एकिकरण गर्ने क्रममा सबै गाउँबाट रकम संकलन गरी युद्ध गर्ने योजना अन्तर्गत रकम संकलन गरेकोमा दरबुङ गाउँबाट सबैभन्दा धेरै द्रव्य अर्थात् आर्थिक संकलन भएको हुनाले सो गाउँलाई दरबुङ नामाकरण गरिएको समेत स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !