प्रचलित :

काठमाडौं, ११ मंसिर । महोत्तरीको बर्दिबासमा भएको घटनाप्रति संयुक्त राष्ट्रसंघले ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौंस्थति राष्ट्रसंघको कार्यालयले बर्दिवासमा ६ वर्षीया बालिकामाथि बलात्कार र हत्या भएको घटना सञ्चार माध्यममा आएको भन्दै घटनाको निन्दा गरेको छ ।

काठमाडौं कार्यालयले वक्तव्य जारी गर्दै घटनाको निष्पक्ष र तत्काल छानविन गरी दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा भएको सो घटनाले महिला तथा बालबालिका माथि हुने हिंसाविरुद्ध तत्काल गम्भीर रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखाएको वक्तव्यमा उल्लेख छ ।

राष्ट्र संघले यस्ता घटना हुनासाथ कानूनी प्रक्रिया अपनाएर दोषीलाई उसको अपराध अनुसारको सजाय हुनुपर्ने माग गरेको छ ।

वक्तव्यमा बालिकामाथि न्याय दिने क्रममा नेपालमा सबै महिला तथा बालिकाहरुलाई हिंसाबाट जोगाउन कदम चाल्नुपर्ने समेत बताइएको छ । त्यस्तै, घटनाको विरोधमा भइरहेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन समेत राष्ट्रसंघले आग्रह गरेको छ ।

गत आइतबार बेलुका हराएकी बर्दिबास नगरपालिका–१४ शुभम बस्तीकी ६ वर्षीय बालिका गुलाबसाह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेको थियो ।

बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस !