प्रचलित :

चितवन । चितवनकै सर्वोच्च शिखर एवम् पर्यटकीय स्थल सिराइचुलीमा पूर्वाधारको विकास हुन नसक्दा पर्यटकीय स्थल नै ओझेलमा परेको छ । समुद्री सतहबाट १ हजार ९ सय ४५ मिटर उचाईमा रहेको सो पर्यटकीय स्थलमा न त खानेपानीको व्यवस्था छ, न त त्यहाँ पुग्ने बाटोको सहजता नै छ । २ वर्ष अगाडि बनाइएको खानेपानीको रिजर्भ ट्यांकी हालसम्म पनि प्रयोगविहिन छ ।

इच्छाकामना गाउँपालिका वडा नं. १ मा रहेको सिराइचुली पुग्नको लागि दिगो पर्यटन विकास कार्यक्रम (टिआरपीएपी) अन्तर्गत तत्कालिन जिल्ला विकास समिति मार्फत् बनाइएको गोरेटो र सिढीँ बाटो समेत मर्मत नहुँदा सो स्थानमा जाने पर्यटकहरुले सास्ती व्यहोर्दै आएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्गको हुग्दी र नारायणगढ–हेटौडा सडक खण्ड अन्तर्गत रत्ननगरको बकुलहर हुँदै जुटपानी, शक्तिखोर, सिद्धि हुँदै ज्यानदालाबाट समेत उपर्दाङगढी पुग्न सकिन्छ । ज्यानदालासम्म भने मोटरबाइकमा पुग्न सकिन्छ । ज्यानदालामा पर्यटकहरु बस्ने आवश्यक पूर्वाधार नहुँदा पर्यटकहरु विचल्लीमा पर्ने गरेका छन् । ज्यानदालाबाट करिव १ घण्टाको पैदल यात्रामा उपर्दाङगढी पुग्न सकिन्छ । हुग्दीबाट करिव १ घण्टाको कच्ची मोटरबाटो हुँदै इच्छाकामना गाउँपालिका वडा नं. १ को हात्तीवाङ पुगिन्छ ।

त्यहाँ केही होमस्टेहरुमा पर्यटकहरु बास बस्ने व्यवस्था भएपनि पर्यटकका लागि पूर्वाधारहरु भने पर्याप्त मात्रामा छैनन् । हात्तीवाङबाट करिव २ घण्टाको पैदल यात्रामा सिराइचुली पुगिने भएपनि सो पैदल यात्रा पर्यटकको लागि सोचे भन्दा सास्ती रहेको छ । केही सिढी बाटो तथा गोरेटो बाटोहरु तत्कालिन जिल्ला विकास समिति मार्फत् निर्माण सम्पन्न भएपछि हालसम्म मर्मत समेत हुन सकेको छैन । भएका सिढीहरु पनि भत्किएका छन् भने सो सिढी तथा गोरेटो बाटो झार तथा रुखहरुले ढाकिएको छ ।

सिराइचुलीसम्म पुग्न पर्यटकहरुका लागि कुनै पनि स्थानमा सूचना पाटी र दिशासूचक संकेत नराखिनुले पर्यटकहरु बाटो भुलेर अन्यत्र पुग्ने गरेका छन् । हात्तीवाङ तर्फबाट होस् अथवा ज्यानदाला तर्फबाट होस्, दुवैतर्फबाट सिराइचुली पुग्नको लागि पर्यटन पूर्वाधारको विकास नहुँदा चितवनकै सर्वोच्च शिखर एवम् पर्यटकीय गन्तव्य उपर्दाङगढी पूर्वाधार विहिन बनेको छ भने पर्यटकीय हिसावले ओझेलमा समेत परेको छ ।

सूर्योदयको दृश्य हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु विभिन्न कष्टहरु झेल्दै उपर्दाङगढी पुग्ने गर्दछन् । उपर्दाङगढीमा निर्माण गरिएको फलामे रेलिङ्ग भत्किएको लामो समय भइसक्दा समेत मर्मत नहुँदा पर्यटकहरु उपर्दाङगढीबाट खसेर दुर्घटना हुन सक्ने जोखिम समेत देखिएको छ ।

बिहानको सूर्योदयको दृश्य सँगसँगै सो स्थानबाट अन्नपूर्ण, गणेश, मनासलु लगायतका १ दर्जन भन्दा बढी हिमालहरु सो स्थानबाट देख्न सकिन्छ । साथै चितवनको भरतपुर, नारायणगढ, टाँडी बजार, नारायणी नदी, गोरखा र धादिङ्गका विभिन्न गाउँहरु तथा रातको समयमा काठमाडौँको थानकोटमा बलेका बत्तीहरुको झिलिमिली तथा थानकोटमा मोटर गाडी गुडेको समेत उपर्दाङगढीबाट देख्न सकिन्छ । अहिले पनि सो स्थानमा दैनिक २०/२५ जना आन्तरिक पर्यटक त्यहा पुग्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस !