प्रचलित :

रुपन्देही । कोरोना संक्रमण रोक्नका लागि बिगत ८ महिनादेखि बन्द रहेको गौतमबुद्वको जन्मस्थल लुम्बिनी क्षेत्र आजदेखि पर्यटकका लागि खुला गरिएको छ ।

लुम्बिनी क्षेत्र खुला भएपनि मायादेवी मन्दिरभित्र भने प्रवेश पाइने छैन । तर मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा खुला रहने छन् ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी क्षेत्र खुला भएपनि मायादेवी मन्दिरभित्र प्रवेश पाइने छैन । उहाँले मायादेवी मन्दिर परिसरमा प्रवेश गर्ने पर्यटकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र प्रवेश गर्नुअघि तापक्रम मापन गरेर मात्रै प्रवेश दिइने बताउनुभयो । लुम्बिनीका अरु विहार र मन्दिरहरुमा घुमघामका लागि पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

चैतदेखि बन्द रहेको लुम्बिनी अहिले भने सिंगारिएको छ । लामो समय भएको बन्दको सदुपयोग गर्दै लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रभित्र सरसफाई, मर्मत सम्भार, वृक्षरोपण र सौन्दर्यीकरणका काम गरेर लुम्बिनीलाई सिंगारेको छ । जसका कारण लुम्बिनी सुन्दर र चिटिक्क बनेको छ ।

लकडाउनको सदुपयोग गर्दै सिंगो लुम्बिनी क्षेत्रको सौन्दर्यीकरणको काम भएको कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले जानकारी दिनुभयो । मायादेवी मन्दिर परिसरमा घाँस, दुवो काटेर चिटिक्क बनाइएको छ भने विभिन्न ठाउँमा रंगीबिरंगी फूल फुलेका छन् । मायादेवी मन्दिर परिसरमा रहेको पवित्र पुष्करिणी पोखरी सफा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !