प्रचलित :

काठमाडाैं । दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि माटाका अन्य भाँडाहरु बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइ-नभ्याई छ । तर यसवर्ष कोराेनाका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । भाडा बनाउने माटो नपाउने समस्याले पनि पेशा नै लोप हुने अवस्थामा पुगेकाे चिन्ता प्रजापतिहरुकाे छ ।

दीपावलीको समय नजिकिदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । अन्य समयमा माटाका भाँडाहरु फाटफुट बिक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ । तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताउनुभएको छ । उहाँले गत वर्ष दैनिक तीन/चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधाभन्दा कम मात्रै बिक्री हुने गरेको बताउनुभयो ।

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । तर यसपटक कोभिडका कारण माग घटेको छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताउनुभयो । भक्तपुरका अधिकांश क्षेत्रमा घना बस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । माटो नपाएकै कारण अबको आठ/दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ ।

प्रजापति समुदायले अगाल्दै आएको यो पेशा निकै पुरानो हो । त्यसैले यो पेशालाई बचाई राख्नुपर्ने देखिन्छ । तर परम्परागत पेशालाई बचाउनका लागि आफूहरुले भन्दा सरकारले नै पहल गर्नुपर्ने देखिन्छ । आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउनेदेखि पकाउने सबै काममा प्रविधि भित्रिदा सजिलो भएको छ । तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप नहोला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस !