कोरोना संक्रमित सुत्केरीको उपचारका क्रममा मृत्यु

बाँके । कोरोना संक्रमण देखिएकी एक सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कात्तिक १७ गते सुत्केरी भएकी तुलसीपुर उपमहानगरपालिका १० दाङकी २० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

सुत्केरी व्यथाले च्यापेपछि उपचारका लागि कात्तिक १६ गते मेडिकल कलेज कोहलपुरमा उनलाई भर्ना गरीएको थियो । भर्ना भएको एक दिनपछि उनको बच्चा जन्माएकी थिइन । बच्चा जन्मिएपछि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरीएको थियो । उक्त परीक्षणमा ति महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना संक्रमण देखिएपछि कोरोना वार्डमा भर्ना गरेर रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार सुरु गरिएको थियो । उनको आज ३ः२० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतकको शव व्यवस्थापनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रयास भईरहेको केन्द्रले जनाएको छ ।

योसँगै उपचारका लागि बाँके आएर ज्यान गुमाउने बाहिरी जिल्लाका संक्रमितहरुको सँख्या २५ पुगेको छ । यसअघि बिहीबार राती दाङकै ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो ।