नेपालमा कोरोना संक्रमणबाट ४ जना पत्रकारको मृत्यु, ४०० भन्दा बढी संक्रमित

काठमाडौं, १६ कात्तिक । विश्वव्यापी कोरोना संक्रमणबाट देशभर ४ जना पत्रकारको मृत्यु भएको छ भने ४०० भन्दा बढी संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघले आइतबार एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको छ ।

साथै उच्च जोखिमका बीच कोरोना संक्रमणको विषयमा नागरिकलाई सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरुलाई एकातिर कोरोनाको कारण देखाई विभिन्न सञ्चार गृहबाट नियमित पारिश्रमिक नदिने, बेतलवी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्ने जस्ता क्रम बढिरहेकोप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारहरुमा कोरोना संक्रमण बढिरहेकाले सञ्चार गृहहरुको केही नराम्रो व्यवहारले पत्रकारहरु दोहोरो मारको चपेटा झेलिरहेको महासंघको भनाइ छ ।

‘पत्रकारहरु संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा कोरोना संक्रिमत भई यतिखेर आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ’, महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘यो विषम परिस्थितिमा मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ ।’

साथै, महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम पत्रकार तथा सञ्चारकर्मीहरुमा महासंघले अपिल गरेको छ ।