प्रचण्डको बानी: नेकपालाई हानी

कमाण्ड र कब्जालाई भन्दा विचार र संगठनलाई प्राथमिकता दिने कि ?

निर्मल भट्टराई, काठमाडौँ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि विवादमा रुमलिएको छ ।

लामो समयसम्म अनिर्णित बनेको गत स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालनमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सञ्चालनमा केन्द्रित हुने गरी सहमतिमा टुंगिएको थियो ।

तर, स्थायी कमिटीको बैठक पछिको यो अवधिमा ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यतातिर पटक्कै ध्यान दिएको देखिएन । उहाँ सरकारको माइक्रो म्यानेजमेन्टमा अनावश्यक रुपमा अल्मलिनुभएको देखिन्छ । जुन किमार्थ आवश्यक छैन ।

देशको कार्यकारी प्रमुखलाई यसरी बाहिरबाट सरकार सञ्चालनका हरेक विषयमा अंकुश लाउने अवाञ्छित प्रयास यसअघि कहिल्यै भएको थिएन । आफ्नै पार्टीको सरकारलाई पार्टीभित्रैबाट यति धेरै असहयोग कहिल्यै भएको थिएन । सरकारले गरेका राम्रा कामको स्वामित्व लिएर जनतामा प्रचार–प्रसार नगर्ने र नियतवस नभएका सामान्य कमजोरीलाई पार्टीभित्रबाट ‘तिललाई पहाड’ बनाउने कार्य यसअघि यो पैमानामा कहिल्यै भएको थिएन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सदस्यले चलाएका सञ्चार माध्यमले आफ्नै पार्टीको सरकारको यति धेरै उछित्तो काढेको यसअघि कहिल्यै थिएन ।

पार्टी एकता भएको ३ वर्ष हुनलाग्दा पनि पार्टी ‘गठबन्धन मानसिकता’ बाट ग्रसित भइरहेको छ । यसो हुनुको प्रमुख कारण पार्टीका ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँले निर्माण गरेको बिरासत नै हो । उहाँले निर्माण गरेको दोहोरो मापदण्ड हो ।

पार्टी एकतालगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध पार्टी नेताहरु माधव नेपाल, झलनाथ खनाललगायत नेताहरुसँग निरन्तर गुटबन्दी गर्नुभयो । एकताको भावनाविपरीत सो गुट भेलालाई निरन्तरता दिँदै आउनुभयो ।

आज पार्टीका अनगिन्ति कामहरु असरल्ल अवस्थामा छन् । पार्टी केन्द्रका निकाय र विभागहरुले पूर्णता पाएका छैनन् । प्रवास कमिटीलगायत कमिटीहरु पूर्ण भएका छैनन् । धेरै जिल्लामा पार्टीका आधारभूत कमिटी बन्न सकेका छैनन् । जनतालाई निरन्तर संगठित गर्ने नेपाली कम्युनिष्ट आन्दोलनको सबभन्दा प्रमुख विशेषता मेटिने डर बढ्दै गएको छ ।

अचम्मको कुरा त के छ भने माओवादी जनयुद्ध उत्कर्षमा भएको बेलाको आफ्नो एकल एवं सर्वसतावादी नेतृत्वको असम्भव अभिलाषा एकीकृत नेकपामा पनि उहाँले छोड्नु भएन ।

आज पार्टीका अनगिन्ति कामहरु असरल्ल अवस्थामा छन् । पार्टी केन्द्रका निकाय र विभागहरुले पूर्णता पाएका छैनन् । प्रवास कमिटीलगायत कमिटीहरु पूर्ण भएका छैनन् । धेरै जिल्लामा पार्टीका आधारभूत कमिटी बन्न सकेका छैनन् । जनतालाई निरन्तर संगठित गर्ने नेपाली कम्युनिष्ट आन्दोलनको सबभन्दा प्रमुख विशेषता मेटिने डर बढ्दै गएको छ ।

मिति समेत तोकिसकिएको एकता महाधिवेशनको तयारीमा खास कुनै प्रगति भएको छैन । पार्टी सदस्यता नवीकृत र एकीकृत भएको छैन । पार्टी संगठन विभागले गरेको निर्णयको आधारमा सदस्यतासम्बन्धी केही काम अगाडि बढे पनि पार्टीभित्र पुनः बढेको विवादले यो प्रक्रियालाई अवरुद्ध गर्ने निश्चित छ । तर, पार्टी स्थायी समितिले पार्टीको समग्र नेतृत्व जिम्मा दिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहानदेखि बेलुकासम्म बालुवाटार र सिंहदरबार नियालेर बिताइरहनुभएको छ ।

‘यो मन्त्री र त्यो मन्त्री’ भनेर प्रधानमन्त्रीसंग पौंठेजोरी खेलिरहनु भएको छ । योभन्दा टीठ लाग्दो अवस्था अरु के हुन सक्छ ?

पार्टी एकताका बखत प्रचण्डका आलोचक भन्थे– प्रचण्ड एकताप्रति इमान्दार छैनन् । उनको प्रमुख ध्येय एमालेका गुटभित्र खेलेर पार्टीसत्ता र राज्यसत्ता हत्याउनु हुनेछ । तर, तत्कालिन एमाले नेतृत्वले त्यसलाई वास्ता नगरी देशको र कम्युनिष्ट आन्दोलनका खातिर एकतालाई मुर्त रुप दियो । समयले बताएको छ– अब यसको पनि समीक्षा नगरी अगाडि बढ्न सकिदैन ।

नेकपा एकताको एउटा बाधक विगतको आ–आफ्नो स्कुलिङ पनि हो । तत्कालिन एमालेजनहरु कमाण्ड र कब्जालाई भन्दा विचार र संगठनलाई प्राथमिकता दिन्छन् । अहिले पनि उनीहरु तत्कालिन एमालेको तलदेखि माथिसम्म चलायमान संगठनको खोजीमा छन् ।

जब कि तत्कालीन माओवादीजनहरु विचार र सङ्गठनभन्दा कमाण्ड र कब्जालाई प्राथमिकता दिन्छन् । र, उनीहरु त्यसैको खोजीमा छन् ।

सबैलाई थाहा छ– माओवादी जनयुद्धको प्रमुख ध्येय सत्ताको सम्पूर्ण कब्जा गर्नु जो थियो !

के गर्नु, नानीदेखि लागेको बानी !  From. dainiknepal