प्रचलित :

काठमाडौं । दशैँको रन्को नेपालमा भर्खर सकिँदै छ । दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी चरा जाडो छल्न दशैँ वरपरमा नेपाल भित्रिन सुरु गरेका हुन् ।

मांसाहारी प्रजातिका सिकार गरेर खाने चराहरू यसरी नेपाल आउने क्रम जारी रहेको वरिष्ठ चराविज्ञ डा तुलसी सुवेदीले जानकारी दिए । ‘उत्तरबाट दक्षिणतर्फ बसाइ सर्ने क्रममा सिकारी चरा नेपालमा कति आउँदैछन् भनेर गणनासमेत भइरहेको छ,’ उनले भने । सिकारी चरामध्ये चिल, गिद्ध र बाजहरू मुख्य गरी विदेशबाट यस समयमा नेपाल भित्रिने गर्छन् ।

एसिया महादेशको उत्तरी क्षेत्रमा पर्ने देशहरू मङ्गोलिया, चीन, रसियालगायतका देशबाट बसाइ सरेर सिकारी चरा नेपाल आउने गरेको चराविज्ञ सुवेदीले बताए । उनका अनुसार जाडो बढेपछि आफ्नो मुलुकमा सिकार खोज्नसमेत कठिन हुने भएकाले पनि सिकारी चरा सहजताका हिसाबले नेपाल आउँछन् ।
प्रजातिगत रूपमा नेपालमा सबैभन्दा धेरै गोमायु महाचिल नेपाल आउँछन् । यिनीहरू पूर्वीदेखि पश्चिम तराईसम्म फैलिएर हिउँदमासमा सिकारमा सक्रिय रहन्छन् । कतिपय चिलहरू नेपाल हुँदै भारत र पाकिस्तानसम्म पनि पुग्ने गर्छन् ।

अमुर बाज भने रसियाको पूर्वी भेगमा अण्डा कोरलेर बच्चा हुुर्काइ बच्चासहित बसाइ सरेर नेपाल आउँछन् । त्यस्तै चाँदचन्द्र चिल, तोप बाज, सानो बौँडाइ, इम्पेरल चिल, ग्रेटर स्पोटर चिल, सुनौलो चिल, वन बाज, तीन चार प्रजातिका भुईं चिललगायतका सिकारी चरा नेपाल आउने गरेका छन् ।

नेपालमा यीसहित ३५ प्रजातिका सिकारी चरा बसाइ सरेर आएको अघिल्लो वर्षको अभिलेखमा उल्लेख छ । गत वर्ष भने २५ प्रजातिका मात्र सिकारी चरा नेपाल आएका थिए । नेपालमै विचरण गर्ने सिकारी चरा भने ६० प्रजातिका छन् । यिनीहरू दिनमा सक्रिय रहेर सिकार गर्न रमाउँछन् । सिकारी चरा नेपाल आउने छेकेमा अक्टोबर ७ बाट सुरु भएको गणनाले यिनीहरूको बसाइ सराइको प्रवृत्ति पत्ता लगाउन सहज हुने सुवेदी बताउँछन् । बसाइ सर्ने क्रममा देखिने परिवर्तनकै आधारमा सिकारी चराको सङ्ख्या घटबढ के भइरहेको छ भन्नेसमेत आकलन गर्न सकिन्छ ।

चीन र मङ्गोलियाबाट गोमायु महाचिल मात्र नेपालमा हरेक वर्ष करिब आठ हजारको सङ्ख्यामा नेपाल आउने गर्छन् । बच्चाको सङ्ख्या कम देखिएको खण्डमा यिनीहरूको प्रजननमा समस्या आएको बुझ्न सकिने उनको भनाइ छ । चराविद् सन्देश गुरुङसहितको टोलीले यसरी बसाइ सरेर आउने चराको गणना र विश्लेषण गरिरहेका छन् ।

बसाइ सरेर आएका सिकारी चरा तराई भूभागसँगै काठमाडौंको चोभारको डाँडा र पोखरा उपत्यकामा बढी समय बिताउने गर्छन् । सिकारी चराको जीवन पद्धतिअनुसार भेटेसम्म मुसा, लोख्रके, खरायो र वनमा रहेका साना आहारा प्रजातिका वन्यजन्तु र गाउँघर आसपासका कुखुरालगायतका चराको सिकार गर्छन् ।

गोमायु महाचिलले सिकार नपाएको खण्डमा मानिसले फालेको सिनोसमेत खाएर पर्यावरण सफा गर्न सघाउँछ । पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न सिकारी चराको महत्वपूर्ण भूमिका रहने चराविद् हेमसागर बराल बताउँछन् । कात्तिकदेखि सुरु भई मङ्सिरमा सबैभन्दा बढी चरा आउँछन् । (गोरखापत्र)

प्रतिक्रिया दिनुहोस !