प्रचलित :

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मर्ने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरिएको छ । यसबारे अध्ययन गर्न चितवन पार्कले एक टोली गठन गरेको छ । पार्कका संरक्षण सह अधिकृत तथा गैंडा विशेषज्ञ ऋषी रानाभाट नेतृत्वमा गठन भएको टोलीमा तीन सदस्य रहेका छन् । टोलीलाई गैंडाको मृत्यु बढ्नुको वैज्ञानिक कारणबारे अध्ययन गरेर सुझाव पेश गर्ने कार्यदेश दिइएको निकुञ्ज प्रमुख अननाथ बरालले बताउनुभयो ।

पछिल्लो समय निकुञ्जमा गैंडा मर्ने क्रम बढेको छ । गैंडा यसरी मर्नुमा प्राकृतिक र केही अन्य कारण हुन सक्ने बरालले बताउनुभयो । टोलीले यही विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । प्रतिवेदन आएपछि गैंडाको मृत्यु दर कसरी घटाउन सकिन्छ भन्नेबारे योजना बनाइने उहाँको भनाइ छ ।

टोलीमा सौराहस्थित जैविक विविधता संरक्षण केन्द्रका प्रमुख बाबुराम लामिछाने र पशु चिकित्सक डा अमिर सुदुल्लाह सदस्य रहनुभएको छ ।

यसअघि गरिएको गैडाको गणनामा चितवन पार्कमा मात्र ६०५ वटा एक सिंगे गैंडा रहेको पाइएको थियो । तर पछिल्लो समयमा गैंडा मर्ने क्रम बढेपछि चिन्ता थपिएको निकुञ्ज प्रमुख बरालले बताउनुभयो ।

सन् २०१६–१७ मा २५ वटा गैंडा मृत फेला परेका थिए भने सन् २०१७–१८ मा यो संख्या २६ रहेको थियो । तर सन् २०१८–१९ मा झण्डै दोब्बर संख्या अर्थात ४३ वटा गैंडा मृत फेला परेका थिए ।

सन् २०१९–२० मा पनि २६ गैंडाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको हालसम्म ९ वटा गैंडाको मृत्यु भएको रिपोर्ट दर्ता भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !