चितवनको खैरहनी नगरपालिका वडा सदस्यको कोरोना संक्रमणबाट निधन

चितवन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट चितवनको खैरहनी नगरपालिका–१२ का वडा सदस्य ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको छ ।
भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत पाण्डेको आज (शनिबार) विहान १ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका पाण्डे असोज ३० गते श्वासप्रश्वास, खोकीसहितको समस्या भई अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
वडा सदस्य पाण्डे क्यान्सर रोगबाट समेत ग्रसित थिए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।