नेपाली कांग्रेसले दशैं लगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गर्ने

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने जनाएकाे छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दशैं लगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका छन् ।

कांग्रेसको कोभिड १९ सम्बन्धी अनुगमन टोलिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताए ।

कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए ।

सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नुभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको पनि सभापति देउवाले बताए ।

औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जिवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताएका छन् ।