प्रचलित :

कञ्चनपुर, ३० असोज । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् ।

जारी निषेधाज्ञाअनुसार वडादशैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ । चाडपर्व मनाउँदा एकाघरमा बसोवास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ । अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, सङ्घसंस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायत क्रियाकलाप गर्न पाइने छैन ।

प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको निषेधाज्ञामा अवैध मदिरा उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, होहल्ला गर्ने र तीव्ररुपमा सवारी साधान चलाउने कार्य गरेको पाइए कानूनी कारवाही गरिने उल्लेख गरिएको छ ।

चाडपर्वका अवसरमा जुवातास र गैरकानूनीरूपमा चिठ्ठा खोल्ने तथा कहीँकतै त्यस्ता क्रियाकलाप भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस !