स्मा‍ट सिटी भरतपुरको वाइपास रोड: चार वर्षमा पनि बनेन चार किलोमिटर

चितवन । चितवनको  स्माट सिटी भरतपुर महानगरपालिकाभित्र पर्ने आँपटारीदेखि केन्द्रीय बसपार्क जोड्ने वाइपास सडक विस्तार गर्न थालेको चार वर्ष बित्यो । तर सडक विस्तारको काम अझै सकिएको छैन । तत्कालै सकिने छाँट पनि देखिदैन । सडक डिभिजन कार्यालय भरतपुरको नाकै अगाडि ठेकेदारले गरेको मनपरीले गिज्याएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनसहित जिल्लाका अधिकांश सरकारी कार्यालय अगाडि ठेकेदारले समयमा नै काम नसकेर मज्जासँग धुलो उडाइदिएको छ ।

धुलो उडेर हिड्न नसक्ने अवस्था छ । ती कार्यालयमा जाने सेवाग्राहीहरु हैरान छन् । सडक विस्तार गर्ने भनेर भत्काएको वर्षो बित्यो जनताले बर्खामा हिलो र हिउँदमा धुलो खाए ।

यो सडकखण्डमा सटर भाडामा लिएर ब्यापार गर्नेहरु आजित बनिसकेका छन् । धुलोका कारणले ग्राहकहरु आउनै छाडेको गुनासो उनीहरुको छ ।

मालपोत चोकमा रहेको आहार होटलका म्यानेजर सरोज आचार्यले धुलोका कारणले ग्राहक आउन छाडेको महिनौं भएको बताए । ‘मालपोतको सामान्ने मुखकै होटलमा यस्तो हालत छ अन्यत्र के होला, धुलो गर्दा ग्राहक आउन मान्दैनन्, हामीलाई समेत गाह्रो छ,’ आचार्यले भने ।

समयमा नै काम नगर्ने ठेकेदारलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । २०७३ पुसमा सडक विस्तारको जिम्मा पाएको गांरी पार्वती निर्माण सेवासँग १५ महिनाभित्र सक्ने गरी सम्झौता भएको थियो ।

१२ करोड ८१ लाख ८२ हजार रुपैयाँमा ठेक्का पाएको सो ठेकेदार कम्पनीले सडकमा झारा टार्ने र देखावटी मात्रै काम गरेको छ ।

गएको जेठमा चौथोपटक थपिएको म्याद पनि सकियो । सरकारले ६ महिना कोभिडका कारणले म्याद थप्ने भनेको छ । यसको फाइदा ठेकेदारले उठाएको छ । सो म्याद पुसमा सकिन्छ । त्यसपछि पनि काम नसके सम्झौता थप नगरिने डिभिजन कार्यालय भरतपुरमा प्रमुख कृष्ण अधिकारी बताउँछन् ।

ठेकेदारले सडक विस्तारको काम पेटी ठेकेदारलाई दिएको छ । अलिअलि काम गरे जस्तो देखाउने, भुक्तानी लिने र महिनौंसम्म हराउने काम ठेकेदारले कार्यालयका इन्जिनियरलाई ‘जाँते पिङमा घुमाएको’ जस्तैं घुमाइदिएको छ । नत डिभिजन कार्यालयले ठेकदारमाथि कारबाही थालेको छ, नत कामलाई गति दिन कडाइ गरेको छ ।

ठेकदारले कतैकतै कालोपत्रेको काम गरेको छ । कालोपत्रे पनि गुणस्तरको देखिदैन । कालोपत्रेको सर्फेस मिलेको छैन ।

सुरुमा बसपार्कदेखि आँपटारीसम्म ४.४ किलोमिटर डेडिकेटेड डबल लेन बनाउने भनिएको थियो । पछि चार लेनको बनाउने भनियो । ठेक्काको जिम्मा लिएको गौरी पार्वती निर्माण सेवाले बसपार्कदेखि विशालचोकसम्म २.४ किलोमिटर मात्रै सडक विस्तार गर्ने गरी ठेक्का पुनरावलोकन भयो ।

घटेको दुरीको सडक पनि विस्तार नगरेर ठेकेदारले हैरान पारेको इन्जिनियरहरु बताउँछन् । सडकको दुवैतर्फ नाली अनिवार्य भने पनि कतैकतै नाली बनाएको देखिन्छ भने केही ठाँउमा अझैं नालीसम्म पनि बनाएको छैन ।

ठेकदारलाई कालोसूचीमा राख्ने भनिए पनि त्यो हिम्मत सडक डिभिजन कार्यालयले राख्न सकेको छैन । सुरुमा सडक विस्तारमा विद्युतका पोल तथा अन्य रुख विरुवा भए पनि साइट क्लियर गरेको वर्षौ भएको छ ।

विशालचोकदेखि आँपटारीसम्म भागलाई दोस्रो प्याकेज बनाएर रायमाझी पशुपति जेभी कम्पनीले ठेक्का पाएको छ । केही समयअघि मात्रै ठेक्का सम्झौता भएको दोस्रो प्याकेजको कामअघि बढेको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

दुई वर्षभित्र चार लेन बनाउने सडक २६ करोडमा ठेक्का सम्झौता भएको हो । सडकको चौडाइ भाग दुईतर्फी नालीसहित २४ मिटर र पिच १४ मिटर हुनेछ । पहिलो प्याकेजको ठेक्काको सर्भिस लेन भने डिभिजन कार्यालयले पछि अलग्गै बनाउने छ ।