सञ्चार क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउँछु : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आजदेखि पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकर्तामा पदभार ग्रहण गर्दै गुरुङले आफूले सञ्चार क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

समृद्ध नेपाल, सुखी नेपालीको सरकारको नारालाई व्यवहारमा ल्याउन र अहिलेको विश्वव्यापी महामारीकोरुपमा रहेको कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण भन्दै मन्त्री गुरुङले त्यसका लागि सही सूचना आवश्यक पर्ने बताए ।

सञ्चार क्षेत्रमा भएका कमीकमजोरी सच्चाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । मन्त्री गुरुङले भने, ‘सही सूचना नभए समाज गलत दिशातर्फ जान्छ । त्यसैले सकरात्मक सूचना सम्प्रेषण गरौँ । सञ्चार क्षेत्रलाई मर्यादित बनाएर जानुपर्छ । त्यसका लागि गलत सोच त्यागेर सकरात्मक सोचमा परिवर्तन हुनुपर्छ ।’