सञ्चारगृह विरुद्ध पत्रकार महासंघको आन्दोलन घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले समस्याग्रस्त सञ्चार गृहविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
कोरोना संकटका बीच पत्रकारको जागिर खोस्ने, तलब नदिनेलगायतका गतिविधि सञ्चार गृहले गरिरहेका बेला महासंघले मंगलबार त्यस्ता समस्याग्रस्त मिडिया हाउसविरुद्ध आन्दोलन घोषणा गरेको हो ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पटकपटकको आग्रहलाई विभिन्न सञ्चार गृहले अटेरी गरेकाले संघर्षमा जाने निर्णय गरिएको उल्लेख  गरेका छन् ।
‘श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएकाले पत्रकारहरूका अगाडि आन्दोलन मात्र विकल्प देखिएको छ ,’ महासंघका महासचिव विष्टद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

मिडिया हाउसविरूद संघर्ष घोषणा गरेको महासंघले  श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे अब अनुगमन गर्नेछ । त्यस्ताे अनुगमन  केन्द्र, प्रदेश र शाखाहरूमार्फत् गर्ने महासंघकाे याेजना छ ।  अनुगमनका क्रममा  जटिल समस्या देखिएमा सञ्चार गृहमा घेराउ, धर्ना, अनसनसहित संघर्षका कार्यक्रम गरिनेछ । त्यसका लागि उसले मातहतका एसोसिएट तथा प्रदेश समितिलाइ निर्देशन दिएकाे छ ।

‘नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र शाखाहरूमार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर पत्रकारका समस्या समाधान गर्नुपर्नेमा सरकार रमिते मात्रै बनेको आरोप पनि महासंघले लगाएको छ । पत्रकारको समस्यामा सरकार रमिते बनेकाले संघर्षमा जानुपर्ने अवस्था आएको उसको भनाइ छ ।

‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्ने सरकार रमिते मात्र बनिरहेको छ,’ जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारहरूका अगाडि आन्दोलन मात्र विकल्प देखिएको छ ।’
कोरोना महामारी सुरुभएसँगै यसको बहानामा प्रतिष्ठित कान्तिपुरदेखि विभिन्न सञ्चारगृहले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने काम गर्दै आएका छन् । यसविरुद्ध केही महिनादेखि पत्रकारहरू निरन्तर संघर्ष गरिरहेका छन् । तर पत्रकार महासंघ भने अहिलेसम्म यसमा प्रत्यक्ष जोडिएको थिएन । यसलाई लिएर महासंघ नेतृत्वको आलोचना भइरहेका बेला उसले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
महामारीमा सुरक्षितपूर्वक काम गर्ने वातावरण मिलाउन, कोरोना संक्रमित पत्रकारलाई उचित राहत दिन तथा रोकिएको पत्रपत्रिका वर्गीकरण छिट्टै टुंग्याउन पनि महासंघले माग गरेको छ ।