असार २७ मा विवाह असोज १६ गते हत्या !

सिन्धुली, २७ असोज । सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारीकी पुष्पा भुजेलले झुन्डिएर आत्महत्या गरेकी छिन् ।

पुष्पाले गत असार २७ गते मात्र चियाबारीका अमन भनिने गोपी थापासँग भागेर विवाह गरेकी थिइन् । तर, विवाह गरेको २ महिनामै यही असोज १६ गते उनी झुन्डिएको अवस्थामा भेटिइन् ।

यद्यपि, उनका माइती पक्षले भने पुष्पाले आत्महत्या गरेको नभई कसैले हत्या गरेको आरोप लगाएका छन् । घटना भएकै रात २ बजे पुष्पाका पतिले माइती पक्षका एक जना दाइलाई खबर गरे । तर, उनको शव माइती पक्षले हेर्न पनि नपाएको आरोप लगाएका छन् ।

सिन्धुली अस्पतालमा पोष्टमार्टम भएपछि माइती पक्षलाई हेर्न र फोटो खिच्न समेत नदिइ जलाइएपछि घटनाले अर्कै रुप लियो ।

त्यसपछि माइती पक्षले आत्माहत्या नभई पुष्पाको हत्या नै भएको भनि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराए । भागी विवाह गरेको तीन महिना पनि नभै आत्महत्या गर्नु, माइती पक्षलाई शव हेर्न पनि नदिइ जलाउनुले कतै पुष्पाको आत्महत्या नभएर हत्या नै त हैन भन्ने आशंका स्थानीयमा पनि उब्जिएको छ ।

माइतीपक्षले दिएको जाहेरीका आधारमा मृतकका श्रीमान गोपी थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।