नेकपाको कर्णाली प्रदेशमा विवाद चुलिदै, मंगलवार छुट्टा छुट्टै बैठक आह्वान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्ष सतहमै उत्रिएका हुन् । विवाद चुलिएसँगै दुवै पक्षधरले मंगलवार छुट्टा छुट्टै वैठक आह्वान गरेका छन् ।

सोमबार प्रमुख सचेतक गुलाबजङ शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाउनुभएको छ । तर उहाँलाई सोमवार नै प्रमुख सचेतकको जिम्मेवारीबाट हटाइएको छ । मुख्यमन्त्री शाहीले शाहको ठाउँमा सीता नेपालीलाई सोमवार नै प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको छ ।

सोमवार नै कार्यभार सम्हाल्नुभएकी प्रमुख सचेतक नेपालीले पनि मंगलबारकै लागि बैठक बोलाउनुभएको छ ।

प्रमुख सचेतक नेपालीले बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको छ ।