सामुदायिक वनलाई नमुना योग्य बनाउँदै बागमती प्रदेश सरकार

शिशिर सिंखडा, चितवन । बागमती प्रदेश सरकारले नमुना सामुदायिक वन बनाउन लागी परेको बागमती प्रदेशका सांसद तथा शिक्षा, वन वातावरण तथा कृषि समितिका सभापति घनश्याम दाहालले बताउनु भएको छ । नमुना सामुदायिक वन बनाएर सो क्षेत्रका बासिन्दाको आयआर्जन र जीवनस्तर उकास्दै दिगो वन व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको समेत उहाँले बताउनुभयो ।

पूर्वी चितवनको कालिका २ मा रहेको थानखोला सामुदायिक वनमा लगाइएको जडिबुटीको अवलोकन गर्दै उहाँले सामुदायिक वनको विकास र व्यवस्थापन राम्रोसँग गर्न सके स्थानीयको जीवनस्तर उकास्न सकिने बताउनुभयो । सरकारले बरण्डाभार क्षेत्र अन्तर्गतका सामुदायिक वनलाई पनि समेटेर बजेट विनियोजन गरेको बताउँदै नमुना सामुदायिक वन बनाउने योजनामा सबैले प्रदेश सरकारलाई साथ दिन उहाँले आग्रह गर्नुभयो । साथै उहाँले प्रदेश सरकारले विनियोजन गरेको बजेट लिएर सामुदायिक वनले वन व्यवस्थापनको काम गर्न समेत अनुरोध गर्नुभयो ।


सो अनुगमनको क्रममा बागमती प्रदेशका सांसद विजय सुवेदीले सामुदायिक वनको उत्पादनलाई उद्योग, रोजगार तथा आयआर्जनसँग जोडेर स्थानीयको जीवनस्तर उकास्नुपर्ने बताउनुभयो । परम्परागत वनलाई व्यवस्थित गर्दै आयमूलक काममा सामुदायिक वनलाई जोड्न सके मात्र सामुदायिक वनको महत्व बढेर जाने बताउनुभयो ।
सोही अवसरमा अर्को प्रदेश सांसद मिलन बाबु श्रेष्ठले सामुदायिक वन विपन्न वर्गका उपभोक्ताको जीवनयापनको सहयोगी हुनुपर्ने बताउनुभयो । जडिबुटी, फलफूलहरुको उत्पादनमा जोड दिई आएको आम्दानीबाट विपन्नको जीवनस्तर उकास्न सामुदायिक वन कोसेढुङ्गा हुने उहाँको भनाइ थियो ।


कार्यक्रममा कालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठले कम आयश्रोत भएका वनहरुलाई नमुना सामुदायिक वनको रुपमा विकास गरी आयआर्जन गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । सामुदायिक वनको विकासको लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने समेत उहाँले बताउनुभयो ।


सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष भरत ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका उपमेयर कमला भट्टराई, वडा नं. २ का वडा अध्यक्ष सोम बहादुर गुरुङ, कालिका वडा नं. ६ का वडा सदस्य दशरथ सापकोटा, थानखोला सामुदायिक वनका अध्यक्ष कृष्ण भट्ट लगायतको उपस्थिति रहेको थियो ।


चितवनमा हाल ९३ वटा सामुदायिक वन रहेका छन् भने कालिका नगरपालिकामा मात्र २२ वटा सामुदायिक वन रहेका छन् । सो मध्ये थानखोला सामुदायिक वनलाई पहिलो चरणमा सामुदायिक वन उपभोक्ता महासंघ चितवनले नमुना सामुदायिक वनको रुपमा विकास गर्ने उद्देश्य राखेको छ । त्यसपछि क्रमशः अन्य सामुदायिक वनहरुलाई पनि नमुना सामुदायिक वन बनाउने योजना रहेको महासंघका जिल्ला अध्यक्ष भरत ढुंगानाले जानकारी दिनुभयो ।


महासंघ अन्तर्गतको हरियो वन कार्यक्रम मार्फत् जडिबुटी खेतीको लागि १ लाख १० हजार रुपैया र वन व्यवस्थापन अन्तर्गत २ लाख ८० हजार सो सामुदायिक वनलाई सहयोग गरिएको छ । सो थानखोला सामुदायिक वनको ५ विगाहा क्षेत्रमा पहिलो चरणमा जडिबुटी खेती अन्तर्गत लेमनग्रास लगाइएको छ । सोही वनलाई पर्यटकीय स्थल बनाउने उद्देश्यका साथ भ्यु टावर समेत निर्माण हुँदैछ । सो टावरको पनि आज नै प्रदेश सांसदहरुद्वारा अनुगमन समेत गरिएको थियो ।