हिमाल पारीको जिल्ला मुस्ताडमा किसानलाई स्याउ टिप्ने चटारो

मुस्ताङ । यतिबेला हिमाल पारीको जिल्ला मुस्ताङमा स्याउ टिप्न किसानहरुलाई चटारो भएको छ । अवरुद्ध सडक खुलेको करिब एक हप्तापछि किसानहरुले दशैलाई लक्षित गरी स्याउ टिपेर पोखरा र काठमाडौं पठाउन शुरु गरेका हन् ।

मुस्ताङबाट विगत एक सातायता दैनिक लगभग एक ट्रकका दरले स्याउ बाहिरिने गरेको छ ।

यस वर्ष मुस्ताङमा गत वर्षकै तुुलनामा स्याउ फल्ने अनुमान गरिएको तर टिप्ने क्रम जारी रहेकोले उत्पादनको यकिन गर्न नसकेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका एकाइ प्रमुख सुधीर थापाले बताउनु भयो ।

मुस्ताडमा गत वर्ष ६ हजार ५ सय मेट्रिक टन स्याउ फलेको थियो । यो वर्ष पनि उत्पादन राम्रै रहेकोले त्यसैको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको छ ।

सरकारले मुस्ताङमा स्याउ खेतीको सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत स्याउ जोन कार्यक्रम सञ्चालन गरेको र यस वर्षका लागि २ करोड २१ लाख बजेट विनियोजन गरेको परियोजनाको मुस्ताङ म्याङदी परियोजना प्रमुख सुधीर थापाले बताउनु भयो ।

मुस्ताङमा हाल एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती फैलिएको र हाल ५ सय हेक्टर क्षेत्रफलमा लगाइएको स्याउखेतीले उत्पादन दिन थालिसकेको छ ।

यो वर्ष मुताङमा ३ हेक्टरमा उच्च जातको स्याउ र ३० हेक्टरमा अन्य साधारण स्याउको विरुवा रोप्ने योजना रेहको थापाले बताउनु भयो । यो वर्ष मुस्ताडमा स्याउ लगाउने क्षेत्र विस्तार भई करिब १५ सय हेक्टर पुग्नेछ ।