नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं । नेपालमा कोभिड १९ संक्रमितको संख्या १ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रवार उपत्यकामा १ हजार ४ सय ९ सहित देशभर २ हजार ५९ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १३ हजार २७९ परीक्षण भएसँगै पीसीआर विधिबाट हालसम्म ११ लाख ४५ हजार २ सय ३७ परीक्षणहरु गरिएका छन् । मुलुकभर क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३ जना रहेका मन्त्रालयले जनाएको छ ।