चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले सम्बन्धितलाई जिम्मा लगायो (सूचीसहित)

काठमाडौं, २३ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

कोरोना भाइरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

उपत्यकाका नयाँबसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँबानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, इमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलिसडकलगायत स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी शुक्रबार सम्बन्धित धनीलाई बुझाइएको हो ।

‘एकान्त ठाउँको पार्किङस्थल, घरको गेटबाहिर, अस्पताललगायत स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ गरेको भनी लापारवाही वा असुरक्षित पार्किङ गरेर मोटरसाइकलहरू बढी चोरी भएको देखिन्छ’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले भने ।

चोरी भएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा ‘लस्ट भेइकल एप्लिकेशन’मा लगइन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको उनले बताए ।

उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न र एकै छिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव समेत दिएका छन् ।

शुक्रबार बमबहादुर विश्वकर्मा, रिना मगर, पवन राई, बासुदेव पोखरेल, राजुतामाङ, अप्सरा खत्री, बिकाश काररञ्जि, सुरजराम श्रेष्ठ, केशव अधिकारी, रामविक्रम सिजापति, जयराम प्रसाद कुशवाह, कुमार बोगटी, इन्द्रकुमार सुनुवार, अनिता सुवाल, जा. बज्राचार्य, पूर्णमाया पाख्रिन र निरज पाण्डेको मोटरसाइकल जिम्मा लगाइएको हो ।

यस्तै धनविरयोञ्जन, मिना केसी, शिवशंकर श्रेष्ठ, कृष्ण बुढाथोकी, रामकुमारी श्रेष्ठ, रामानन्द शाह, सुजन सैजु, भुनिमा तामाङ्ग र लेखनाथभुसालका मोटरसाइकल पनि जिम्मा लगाइएको छ ।

महाशाखाले यस आर्थिक वर्ष ०७६–७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको प्रहरीले बताएको छ ।

थप विवरणसहितको सूची हेर्नुहोस्–