नेकपाका उपाध्यक्ष बामदेव गौतम माथि फेरि धोका !

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेम गौतममाथि फेरि धोका भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विषयमा परेको मुद्दाको सुनुवाई अनन्तकालसम्म लम्बिने अवस्था सिर्जना भई उहाँमाथि धोका भएको हो ।

गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयबिरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा हुनुहुन्छ । अदालतले बुधवारका लागि गौतमबिरुद्धको मुद्दाको सुनुवाई तोकेको थियो । तर सर्वोच्चका न्यायाधीश तथा कर्मचारीलाई कोरोना संक्रमण भएपछि सो मुद्दाको बाँकी सुनुवाइ दशैँपछि मात्रै हुने अवस्था देखिएको हो ।

सो मुद्दाको पेसी बुधबारका लागि तोकिएको छ । सर्वाेच्च अदालतका एक अधिकारीले जनताटाइम्सलाई दिएको जानकारीअनुसार अव बुधबार सुनुवाइ हुने अवस्था छैन । प्रधानन्यायाधी चोलेन्द्रशमशेर जवरासहित अधिकांश न्यायाधीश आइसोलेशनमा बसेको अवस्थाले गर्दा दशैंअघि गौतमको मुद्दाको सुनुवाई हुने अवस्था नरहेको ती अधिकृतको भनाई छ ।

‘न्यायाधीश र कर्मचारीलाई नै कोरोना देखिएको कारण आइतबारयता थोरै मात्रै इजलास तोकिएको छ । गौतमको हेर्दाहेर्दैमा रहेको मुद्दाको पेसी बुधबारको तोकिएको भएपनि अव त्यस दिन इजलास बस्ने सम्भावना छैन, अहिलेसम्मको अवस्था हेर्दा यो मुद्दाको अर्को पेसी दशैँअघि हुने सम्भावना देखिँदैन,’ सर्वाेच्चका ती अधिकारीको भनाई छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अदालतमा तीन अधिकृत र एक न्यायाधीशमा कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीशसहित अन्य न्यायाधीशहरु सेल्फ आइसोलेसनमा बसेको जानकारी दिनुभयो ।

सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना देखिएपछि आइतबार एउटा मात्रै इजलास गठन गरिएको थियो । सोमबार दुई र मंगलबार तीन वटा इजलास गठन भएको छ । यता गौतमको मुद्दाको सुनुवाईकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनमा ढिलाई गर्नुभएको छ । अर्थ र सञ्चार जस्तो निकै महत्वपुर्ण मन्त्रालयको नेतृत्व रिक्त भई आफैले सम्हाल्नु परेको अवस्थामा समेत गौतमको बिषय टुंगो लागेपछि भन्दै प्रधानमन्त्री पर्खनुभएको छ । अदालतले मुद्दा खारेज गरेमा मन्त्री हुने गौतमको चाहना रहेको छ ।

अर्थसहित सरकारमा सहभागी भएर प्रधानमन्त्री ओलीको समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लाग्ने अठोट गर्नुभएका नेता गौतमलाई सर्वाेच्चको सुनुवाई नै ढिला भएपछि अव मन्त्रिपरिषद बिस्तार हुने र उहाँ छुटने अवस्था देखिएको छ

अर्थसहित सरकारमा सहभागी भएर प्रधानमन्त्री ओलीको समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लाग्ने अठोट गर्नुभएका नेता गौतमलाई सर्वाेच्चको सुनुवाई नै ढिला भएपछि अव मन्त्रिपरिषद बिस्तार हुने र उहाँ छुटने अवस्था देखिएको छ । मन्त्री बन्ने उहाँको चाहना र योजनामा अदालत नै बाधक बनेपछि गौतम नियतिको खेलमा पर्नुभएको छ ।

गौतमका पक्षमा बहश गरेका कानून ब्यवसायीले भने जोखिम मोलेर भएपनि बुधवार नै सुनुवाई हुनुपर्ने बताएका छन । गौतम पक्षधर कानुन ब्यवसायीको यो आजावलाई सर्वाेच्चले नसुनेको र जोखिम नमोल्ने निर्णय लिएमा गौतमको मुद्दाको टुंगो दशैंपछि मात्रै लाग्ने भएको हो ।