नेकपाको सचिवालय बैठक आज बस्दै: यी हुन् ओली क्याबिनेटमा थपिने तीन मन्त्री

  1. काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ। दुई पटक स्थगित भएको नेकपाको सचिवालय बैठक आज बस्ने भएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको प्रचण्डको सचिवालयले जनाएको छ।

बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिमण्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ। सरकारले गत बिहिबार मुख्यसचिव नियुक्ति र विभिन्न ३ देशमा राजदूत सिफारिस गरेपछि अध्यक्ष प्रचण्ड र उनी निकट नेताहरु असन्तुष्ट देखिएका छन्।

त्यस्तै स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओलीले मन्त्रिमण्डल पुर्नगठनका सन्दर्भमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिको विषय अहिले उठाउने तयारी गरेका छन्। त्यसो हुदाँ अर्थमन्त्रीमा विष्णु पौडेल, सूचना तथा सञ्चारमा जर्नादन शर्मा र सहरी विकासमा सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने गरी ओलीले प्रस्ताव अगाडी सार्ने सम्भावना देखिएको हो। तर यी प्रस्तावमा अन्य सचिवालयका सदस्यहरु सहमत हुने नहुने अहिले नै बताउन सकिने अवस्था देखिएको छैन।

माधव नेपाल प्रधानमन्त्री बाहेक पुरै सेट परिवर्तनको पक्षमा देखिएका छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई बिदाई गरेर ब्यापक मात्रामा पुर्नगठनको पक्षमा छन्। तर ओली रिक्त तिन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने र तीन मन्त्रालय टुक्राएर थप तीन मन्त्री नियुक्ति गर्ने तिर मात्र देखिरहेका थिए। बालुवाटार स्रोतका अनुसार यस विषयमा नेकपाले आजको सचिवालय बैठकबाट केही न केही निर्णय लिन सक्ने बताइएको छ।