प्रदेश पाँचको स्थायी राजधानी र नाम आज टुङ्गिने : पक्ष र विपक्षमा आ–आफ्नै ह्विप

रुपन्देही । लामो समयसम्म स्थायी राजधानी र प्रदशको नामाकरण नभएको प्रदेश नं. ५ ले आज स्थायी राजधानी र नामको टुंगो लगाउँदैछ ।
प्रदेश नं. ५ को स्थायी राजधानीका विषयमा संसद्मा प्रक्रिया चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । उसोत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले देउखुरीको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरिसकेको छ ।
आज मंगलबार बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुनसक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्वीप लगाएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिनुभयो ।
प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको र नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उहाँको भनाइ छ ।कांग्रेसले निर्णय गरेपनि कांग्रेसका राप्ती पश्चिमका सांसदहरुले दाङकै पक्षमा मतदान गर्ने सम्भावना छ ।
संविधानले प्रदेश सभाका कुल सदस्यको दुई तिहाई मतले प्रदेश राजधानी र नामाकरण गर्न सकिने उल्लेख गरेको छ ।
प्रदेशसभामा ८७ जना सांसद हुनुहुन्छ । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग मात्र छ ।
प्रदेशसभामा नेकपाका ६१ सांसद हुनुहुन्छ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद हुनुहुन्छ ।
५८ सांसदले पक्षमा मतदान गरेमा नाम र राजधानी तोकिनेछ । दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ ।
तर नेपाली कांग्रेसका १९ जनामध्ये १३ जना साविक लुम्बिनी अञ्चलका हुनुहुन्छ भने ६ जना साविक राप्ती र भेरी अञ्चलका हुनुहुन्छ ।
कांग्रेसका ६ जना सांसद थपिँदा प्रस्तावको पक्षमा ५३ मत हुन्छ । यसरी नेकपालाई दुई तिहाइ नपुग्ने अनुमान कांग्रेसको छ ।
प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा पेश गरिसक्नुभएको छ ।
प्रस्तावमाथि हिजो सोमबार छलफल भएर मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिइसक्नुभएको  छन् ।