आजबाट तातोपानी नाका खुल्दै: तीन महिनादेखि खासामा रोकिएका सामान दशैं अगावै ल्याइने

काठमाडौं, असोज १९ । तीन महिनादेखि बन्द तातोपानी नाका आजबाट सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अडकिएका सामान नेपाल भित्र्याउन तातोपानी नाका संचालन हुन लागेको हो ।

असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ । खासा क्षेत्रमा नेपाली ब्यबसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन् । ती कन्टेनर नेपाल भित्र्याउन नाका खुल्न लागेको हो । यही असोज १३ गते दुई देशबीचको मितेरी पुलमा नेपाल र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गते (आज) बाट सुचारु गर्ने सहमति भएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खासा क्षेत्रबाट कन्टेनर भित्रिएपछि सो नाका बन्द हुने वा संधैं सुचारु हुने भन्ने बिषयबारे कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँका अनुसार खासा क्षेत्रमा रहेको सामान चिनियाँ भन्सार एजेन्टले मितेरी पुलसम्म ल्याएर झारिदिन्छन । मितेरी पुलबाट तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पिसिआर नेगेभिट रिपोर्ट आएका नेपाली मजदुरले लोड गरी ल्याउनेछन । प्रजिअ ढकालका अनुसार सामान लोड अनलोड गर्ने चिनियाँ र नेपाली मजदुरको प्रत्येक हप्ता कोरोना परीक्षण गरिनेछ ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले असोज १९ गतेबाट तातोपानी नाकाबाट दैनिक १६ वटा मालबाहक कन्टेनर नेपालीभूमि तातोपानी भन्सार कार्यालय भित्रिने बताउनुभयो । जसअनुसार नजिकिएको बिजया दशमी अघि खासा क्षेत्रमा अडकिएका सबै कन्टेनर नेपाल आईपुग्नेछन् । सो कन्टेनर पछि नाका खुल्ने वा नखुल्नेबारे कुनै जानकारी आएको छैन, खत्रीले भन्नुभयो ।

२०७२ सालको बिनाशकारी महाभूकम्पले तातोपानी नाका बन्द भएपछि दश हजारभन्दा बढी ब्यापारी, मजदुरहरु बिस्थापित हुनुपरेको छ । ०७२ बैशाख १२ गतेको भूकम्पका कारण बन्द तातोपानी नाका २०७६ जेठ १५ गते खुलेको थियो । कोरोना महामारीको कारण देखाउदैं चीनले गएको माघबाट सो नाका बन्द गरेको थियो । नेपालको बिशेष पहलपछि खासामा रोकिएको सामाग्री ल्याउनका लागि नाका खोल्न लागिएको हो ।