चितवनमा आजबाट जोर विजोर प्रणाली लागु, सबैखाले ब्यबसाय १० देखि ५ बजेसम्म सञ्चालन हुने

चितवन ।  जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा आज रातिबाट  सकिएकाे छ । आज असोज १ गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गरेको  प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।

उहाँले आज देखि निजी सवारी साधान जोर विजोेर प्रणालीमा संचालन गर्न दिने बताउनुभयो । चितवनमा सार्वजानिक सवारी साधन सञ्चालनका बिषयमा के गर्ने भन्ने बिषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा स्वास्थ्य सावधानी अपनाउने विषयमा भने प्रशासनले कडाइ गर्ने उहाँको भनाइ छ ।

‘आज देखि चितवनमा गर्न नपाउने/नमिल्ने कामको विवरण कम हुन्छ’ उहाँले भन्नुभयो, ‘अतीआवश्यक भन्दा बाहेकका पसललाई विहान १० बजेदेखि ५ वजेसम्म खोल्न मिल्नेगरी निर्णय भएको छ ।’ यस्तै धार्मिक, सांस्कृति कार्यक्रम गर्न, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काम गर्न र अन्य भेला जमघट हुनलाई केही समय रोकिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गते राती १२ बजेसम्मको लागि केही खुकुलो बनाई निषेधज्ञा लगाएको थियो । चितवनमा साउन ३२ गतेबाट निषेधज्ञा लगाइएको थियो ।  सरकारले गरेको निर्णय अनुसार नै चितवनमा आज देखी छोटो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु संचालन  भएका छन ।

महिनाको जोर गतेका दिन जोर नम्बरका र बिजोर गतेका बिजोर नम्बरका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरु संचालन गर्न पाउने छ । त्यस बाहेक अन्य सवारी साधन संचालनमा पूर्णरुपमा रोक लगाइएको छ । यसका लागि प्रशासनले अर्को मापदण्ड पनि बनाएको छ । यसरी सार्वजनिक सवारी साधनमा खटिने चालक र सह–चालकको नियमित स्वास्थ्य जाँच तथा कम्तिमा महिनामा एक पटक आरटी पीसीआर परीक्षण गर्नुपर्नेछ ।

सार्वजनिक यातायातले पालन गर्नुपर्ने मापदण्डः

जिल्ला प्रशासन कार्यालयले तोकेका मापदण्ड अनुसार अटो रिक्सामा बढीमा २ जना, म्याजिक भ्यानमा बढीमा ५ जना र अन्य सवारी साधनमा कुल सिट क्षमताको आधा संख्या मात्रै यात्रु चढाउन पाउने छन् ।

ठूला सवारी साधनमा सिटको दायाँ तथा बायाँ तर्फको लहरमा एक÷एक जना मात्र यात्रु राखेको हुनुपर्नेछ । चालक र सहचालकले अनिवार्य रुपमा मास्क प्रयोग गरेको हुनुपर्नेछ ।

सह–चालकले पञ्जा तथा भाइजर अनिवार्य लगाएको हुनुपर्ने, सवारी साधनको ढोकामै स्यानिटाइजर राखेको हुनुपर्ने र सवारी साधन दैनिक रुपमा निसंक्रमित गरेको हुनुपर्नेछ ।