म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको आरोपमा गायक ग्याल्जेन दोर्जे तामाङ पुर्पक्षका लागि थुनामा

काठमाडौँ, २९ भदौ । राष्ट्रिय झण्डा जलाएको आरोपमा गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

म्युजिक भिडियोमा झण्डा जलाएको अभियोगमा तामाङलाई सोमबार काठमाडौँ जिल्ला अदालतले थुनामा राख्ने आदेश जारी गरेको हो । अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उक्त आदेश दिएको हो ।

सोही आरोपमा पक्राउ परेकामध्ये ३ जना १५ हजार धरौटीमा रिहा भएका छन् भने ५ जना साधारण तारेखमा छुटेका छन् । उनीहरुविरुद्ध भदौ २४ गते मुद्दा दायर भएको थियो ।

मकवानपुरमा सुटिङ गरिएको उनको म्युजिक भिडियो मंगोल हप अफिसियल नामक युट्युब च्यानबाट अपलोड गरिएको थियो । उक्त गीतमा बाहुन, क्षेत्री लगायतलाई अश्लील गाली गरिएको छ ।