यातायात व्यावसायीले चितवनका सिडियाेलाई ज्ञापन पत्र बुझाउदै भने- ‌‍असोज १ गतेदेखि हामीले गाडी चलाउन पाउनु पर्छ

चितवन । चितवनका यातायात व्यवसायीले असोज १ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन । आज (आइतबार) चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइलाई ज्ञापनपत्र बुझाउँदै यातयात क्षेत्रसंग सम्बन्धित चार संस्थाले लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनको माग गरेका हुन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदी, नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष पाल्टेन घलान, अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष राजु श्रेष्ठ र नेपाल यातायात स्व.म.संगठन चितवनका जिल्ला अध्यक्ष दिलिप अधिकारीले संयुक्त ज्ञापनपत्र बुझाएर स्वीकृति नदिए स्वतःस्फुर्त यातायता सञ्चालन गर्ने बताएका छन ।    कोरोना (कोभिड १९) का कारण चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञालाई यातायात व्यवसायीले कडाइका साथ पालना गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवसाय ठप्प हुँदा व्यवसायी संगै मजदुरको दैनिकी कष्ठकर बन्न थालेको छ, ६ महिनादेखि रोजिरोटी खोसिएको छ ।” उहाँले चितवनमा ७० हजार बढि यातायात व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको बताउनुभयो ।

पुरानो नारायणी यातायात प्रालिका अध्यक्ष शंकर गिरीले सुरक्षाका उपायहरु अवलम्बन गरेर यातायात व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले व्यवसाय चौपट भएको अवस्थामा बैंकको किस्ता लगायतका तनाब व्यवसायीले झेल्नु परेको बताउनुभयो । कोरोना भन्दापनि आर्थिक कारणले मानिसको ज्यान जाने खतरा बढेको उहाँको भनाई छ ।

यस्तै भरतपुर मलमल यातायात प्रालिका अध्यक्ष चिनी बहादुर बोहोराले व्यवसाय सञ्चालन नहुँदा यातायातका साधनमा खिया लाग्ने अवस्था आएका बताउनुभयो । उहाँले स्थानिय स्तरमा प्रशासनले समन्वय गरेर यातायात सञ्चालनको वातावरण बनाइदिनुपर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जिल्लामा कोरोनाका संक्रमित झन् बढ्दै गएकाले यथास्थितिमा सार्वजनिक सवारीसाधन सञ्चालन सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“यातायात नचल्दा धेरैलाई समस्या भएको छ भन्ने मैले बुझेको छु तर तत्काल सञ्चालनमा ल्याउँदा संक्रमण फैलने खतरा छ ।” प्रजिअ भट्टराइले असोज पहिलो सातादेखि जोर बिजोर लागु गर्ने र त्यसपछिका सातामा यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । देशभर यातायात व्यवसाय सञ्चालनमा आए आफु बाधक नबन्ने बताउनुभयो ।

यतायात व्यवसायीहरुले प्रशासन कार्यालयले जारी गरेको पास दुरुपयोग गरी नीजि सवारीसाधनले समेत यात्रुहरुले ओसार पसार गरेको आरोप समेत लगाएका छन । यस्तै व्यवसायीले नेपाल राष्ट्रबैकद्धारा जारी गरिएको कोभिड १९ प्रभावित उद्योग,पर्यटन,यातायात र कृषि व्यवसायलाई पुनरकर्जा र कर्जा सहजीकरण तालिका लागु गर्नुपर्ने व्यवस्थालाई स्थायिन रुपमा लागु नभएको भन्दै पहल गरिदिन चितवन प्रशासनसंग माग गरेका छन ।

सो अवसरमा चितवन यातायात छाहारी प्रालिका अध्यक्ष बद्री पौडेल,पृथ्वी राजमार्ग यातायता प्रालिका कार्यालय प्रमुख मित्र केसी, संयोग नेपाल यातायात प्रालिका अध्यक्ष जयराम खत्री,नेपाल यातायात व्यवसायी महासंघ चितवनका कोषाध्यक्ष कमल तिवारी लगाएतको उपस्थिति रहेको थियो ।