नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि मोडालिटी तयार

काठमाडौं । नेपालका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि मोडालिटी तयार गर्न गठित समितिले महासंघलाई चुनाव मोडालिटीको प्रतिवेदन बुझाएको छ ।

पटकपटकको बैठकपछि समितिले चुनावका लागि प्रमुख तीन मोडालिटी तयार गरेर सोमवार महासंघ अध्यक्ष भवानी राणालाई बुझाएको हो । समितिले कोरोनाको जोखिम कम भएपछि तीन तहकै चुनाव काठमाडौंमै गर्न सकिने, दूरी कायम गरेर वस्तुगत एवम् एशोसिएटको चुनाव काठमाडौंमा तथा जिल्ला नगरको चुनाव जिल्लामै गर्न सकिने तथा विद्युतीय मतदान गरी तीनओटा मोडालिटी तयार गर्ने निर्णय गरेको छ ।

विद्युतीय मतदानभन्दा प्रत्यक्ष मतदानलाई नै समितिले जोड गरेको छ भने तेस्रो विकल्पमा मात्र विद्युतीय मतदानलाई राखेको छ । समितिले दूरी कायम गरेर वस्तुगत एवम् एशोसिएटको चुनाव काठमाडौंमा गर्ने र जिल्ला नगरको चुनाव जिल्ला नगरमै गर्ने व्यवस्थालाई पहिलो विकल्पका रूपमा राखेको छ ।

यस्तै, तीनै तहको चुनाव काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने समितिको दोस्रो विकल्पका रूपमा रहेको छ । स्वास्थ्य मन्त्रालय, कोरोना रोकथाम नियन्त्रण तथा उपचार केन्द्र (सीसीएमसी) लगायत विज्ञसँग सुझाव लिएर समितिले यी तीनओटा मोडालिटीमा चुनाव गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन महासंघ कार्यसमितिलाई बुझाएको समितिका सदस्य सुनील गोपाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्ष मतदानलाई जोड दिइएकामा भौतिक दूरी र गोपनीयताका लागि एक सदस्यपछि अर्को सदस्यले गर्ने मतदानमा १५ मिनेटसम्मको अन्तर राखेर गर्न सकिने सुझाव समितिको छ । समितिका सबै सदस्यको संयुक्त सहमतिअनुसार मोडालिटी तयार गरिएको उनको दाबी छ ।

गत चैत २८÷२९ मा साधारणसभा हुने मिति तय भइसके पनि कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले पटकपटक चुनावको मिति तय भएर पनि स्थगन हुँदै आएको छ । यसले गर्दा महासंघभित्रै नेतृत्व हस्तान्तरणका लागि छिटो चुनाव गर्नुपर्ने दबाब परेको थियो । (आर्थिक अभियान)