ललितपुर चक्रपथ क्षेत्रभित्र आज बिहानैदेखि कर्फ्यू

ललितपुर, १९ भदाै । ललितपुर जिल्लाको चक्रपथ क्षेत्रभित्र आज शुक्रबारका लागि कर्फ्यू आदेश जारी भएकोे छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको हो । मत्स्येन्द्रनाथ संक्षिप्त रथयात्रा गर्न कर्फ्यू लगाइएको हो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार रातो मत्स्येन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोकमा बिहीबार दिनभर तनाव भएपछि महानगरपालिका चक्रपथभित्र कर्फ्यू आदेश जारी गरिएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदासमेत सचेत नभएको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यु जारी गरिएको उनले बताए ।

ललितपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई, गुठी संस्थानका अधिकारी र १९ जातीय संगठनको संयुक्त बैठकले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेको छ ।