बुटवलमा पनि आज बिहान कोरोना संक्रमित ७७ वर्षीया महिलाको मृत्यु

बुटवल। बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल आएकी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ ७ बजेतिर अस्पताल आएकी महिलालाई जिन एक्सपर्ट मेसिनमार्फत् पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालको कोरोना विशेष अस्पताल र भिम अस्पताल भैरहवामा आइसियू बेड खाली नभएको कारण उनलाई फिवर क्लिनिकमै भर्ना गरिएको डाक्टर थापाले जानकारी दिए।

यो सँगै रुपन्देहीमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।