२२ वर्षीया महिलाले जन्माइन् एकै पटक चार बच्चा

जनकपुर, १७ भदौ । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले एकै पटकमा ४ बच्चालाई जन्म दिएकी छिन् ।

अरमानाले ३ छोरी र १ छोरा जन्माउनु भएको छ । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ ।

शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था सामान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताइन । शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिएको डा. सिंहले जानकारी दिइन् ।

प्रसुतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रियामार्फत ती बच्चाहरु निकाल्नु भएको हो । डा. सोनिया सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिनु ‘दुर्लभ’ घटना रहेको बताए ।

यता एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी अरमानाको अवस्था गम्भीर छ । उनको फोक्सोमा पानी जमेर पलमनरी एडीमा देखिएकोले डा. अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइएको डा. एसके सिंह बताए ।