कोरोना संक्रमित नै सहभागि थिए योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको आइसोलेसन उद्घाटनमा

चितवन । यही भदौं १४ गते भरतपुर महानगरपालिका–१ बागेश्वरीस्थित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा औपचारिक रुपमा आइसोलेसन सेन्टर स्थापना गरियो । महानगरपालिकाले स्थापना गरेको सो आइसोलेसन सेन्टमा ७५ बेड रहेको छ कोरोना संक्रमित नै सहभागि थिए ।

सामान्य औपचारिक कार्यक्रम नै गरी सुरुवात गरिएको आइसोलेसन सेन्टरमा संघीय सांसद, प्रदेश सांसद, भरतपुर महानगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुखहरु लगाएत जिल्लाका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, संचारकर्मीको पनि उपस्थिति थियो । कोही पनि संक्रमित नभएको जस्तै गरि गरिएको कार्यक्रममा सहभागि मध्ये एक व्यक्तिलाई नै कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको भित्रको क्यान्टिनका संचालक समेत रहेका ती व्यक्तिमा आइसोलेसन उद्घाटनको एकदिनपछि संक्रमण पुष्टि भएको छ । उनले संचालन गरेको क्यान्टिनका चार जनामा संक्रमण पुष्टि भएपछि उनि आफै क्वारेन्टिनमा बस्नुपर्नेमा जिल्लाका सार्वजनिक कार्यक्रममा जाने र अन्यसंग पनि भेटघाट गरिरहेका थिए ।

कोरोना परीक्षणका लागि स्वाब दिन छाडेर ती व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागि भएका थिए । ती व्यक्ति त्यतिमा मात्रै सिमित नभइ आफू ठूलो समाजसेवी, पहुँचवाला मान्छे भन्दै अन्य विभिन्न ठाउँका कार्यक्रमहरुमा समेत सहभागि भएको एक स्थानियले बताए । स्थानियले क्वारेन्टिनमा बस्न सल्लाहा दिँदा आफू अरुभन्दा जान्नेसुन्ने रहेको र जिल्लाका बरिष्ठ चिकित्सकहरुसंग आफ्नो संगत रहेको बताउँदै आएका थिए ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले कार्यक्रममा सहभागि भएका बेलामा कसैलाई पनि संक्रमण नदेखिएको र पछि कसलाई देखियो भन्ने बारे आफूलाई जानकारी नभएको बताइन् । आइसोलेसन समुद्घाटन समारोहमा झण्डै एक सय जनाको सहभागिता थियो । कोरोना संक्रमणको शंका लागेर परीक्षण लागि स्वाब दिन तयारी अवस्थामा हरका व्यक्ति त्यसरी सार्वजनिक समारोहमा सहभागि हुनु पूर्ण रुपमा गलत रहेको चिकित्सकहरु बताउँछन् । नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा.अनिल विक्रम कार्कीले शंका लागेरै मान्छेले स्वाब दिने भएकाले रिपोर्ट नआएसम्मका लागि क्वारेन्टिनमा बस्नुपर्ने बताए । उनले भने–‘स्वाब दिएपछि क्वारेन्टिनमा बस्नुपर्छ, बाहिर सार्वजनिक कार्यक्रममा हिड्नु पूर्णरुपमा गलत हो ।’

यसरी हिड्दा कन्ट्याक्ट ट्रेसिङ गर्न पनि असहज हुने भएकाले यस्तो गलत काम जोकोहीले पनि गर्न नहुने उनको भनाइ छ । यसरी स्वाब दिएर हिड्दा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति नेकपा चितवनका नेता समेत हुन् ।