‘भरतपुर-एक बगैँचा’ अभियानः २२ हजार फलफुलका विरुवा रोपियो

चितवन,भदौं १३ । चितवनको भरतपुरमा २२ हजार फलफुलको विरुवा रोपिएको छ । भरतपुर महानगर क्षेत्रलाई फलफुलको बगैँचाको स्वरुप दिने अभियानलाई निरन्तरता दिँदै विरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर असार १४ गते सुरु भएको अभियान आज सकिएको छ । ‘भरतपुर–एक बगैँचा’ अभियानले महानगरलाई केही वर्षमै हरियाली महानगरका रुपमा लक्ष्य राखिएको छ ।

फलफुलको विरुवा रोप्नका लागि तथ्याङक संकलन र विरुवा वितरणको जिम्मा लिएको “वे” गु्रपका संयोजक भोजनारायण कँडेलले महानगरमा यसबर्ष २२ हजार विरुवा रोपिएको बताउनुभयो । उहाँले भन्नुभयो टोलभित्र आवश्यक पर्ने विरुवाको घरदैलोमै पुगेर लिएको विवरण अनुसार वितरण गरेका छौं । “फलफुलका विरुवा रोप्न सबैले साथ दिएका छन, उहाँले भन्नुभयो,“केही वर्षमै भरतपुर क्षेत्र हरित हुनेछ ।” उहाँका अनुसार माग फारम मार्फत टोलबासीले चाहाना गरेका फलफुलका विरुवा सकेसम्म उपलब्ध गराइएको छ । गत बर्ष मात्रै महानगर ७ वडामा ६५ हजार बढी फलफुलका विरुवा रोपिएको थियो ।

बागमती प्रदेशका सांसद विजय सुवेदीले यो वर्ष कोरोनाको प्रभावका विचपनि आवश्यक मात्रामा फलफुलका विरुवा रोपिएको बताउनुभयो । “भरतपुरलाई बगैँचा बनाउने काम अगाडी बढेको छ”, सुवेदीले भन्नुभयो “यसपाली छुट्टै बजेट नभएपनि महानगरपालिका, कृषि ज्ञान केन्द्र, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र बन कार्यालयको सहयोगमा अभियान सफल भएको छ ।”

हरेक घर तथा सार्वजनिक संस्था आसपासमा फलफुलका विरुवा लगाइएको छ, जंगल क्षेत्रमा हर्रो, बर्रो, अमला लगाइएको छ,उहाँले भन्नुभयो । भरतपुरको नवजागृती सामुदायीक वन र रामवेल सामुदायीक वनमा फलफुलसंगै जडिबुटीका विरुवा पनि रोपिएको सांसद सुवेदीले बताउनुभयो । सामुदायिक वनलाई उत्पादनसंग जोड्न जडिबुटी र फलफुलका विरुवा रोपिएको उहाँले जानकारी दिनुभयो । कुनैपनि जमिन खाली नहुने गरी फलफुलका विरुवा रोप्ने अभियान भरतपुर एक बगैचाको प्रारम्भिक चरणका काम भइरहेको उहाँले बताउनुभयो ।

सांसद सवेदीले महानगर केही वर्षमै फलफुलको बगौँचाको सहरका रुपमा चिनिने बताउनुभयो । उहाँ चितवन २ ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ । सांसद सुवेदीको निर्वाचन क्षेत्रमा रहेका ७ वडामा फलफुल विरुवा रोपण केन्द्रित गरिएको हो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरपालिकामा रोपिएका विरुवालाई संरक्षण गरिने बताउनुभयो । हरेक वडाका हरेक दुई टोललाई नमुना टोलका रुपमा छनौट गरि ‘एक टोल–एक विरुवा चिनारी’ हुने उहाँको भनाई छ । यो अभियान अन्तर्गत छनौट भएका टोलले टोलभित्रका सडकमा एकै किसिमका फलफुलका विरुवा रोपेका छन । आँप, लिचि, अम्बा, कागती, रुखकटहर, एभोकार्डो लगायतका फलफुल रोपिएको प्रमुख दाहालले बताउनुभयो । विकास निर्माणका काम संगै भरतपुरलाई सुन्दर बनाउने अभियानलाई पनि निरन्तरता दिएको उहाँको भनाई छ । महानगरका वडा कार्यालय मार्फत स्थानीयलाई विरुवा बाँडिएको हो ।